बहराइनविरुद्धको जितसँगै सुपर थ्रीमा पुग्ने नेपालको झिनो आशा कायमै

जेष्ठ १, २०८२ |खेल ब्युरो
बहराइनविरुद्धको जितसँगै सुपर थ्रीमा पुग्ने नेपालको झिनो आशा कायमै

काठमाडौं । नेपालले समूह ‘सी’को विजेता बन्दै आईसीसी विश्वकप एसिया क्षेत्र छनोटको सुपर थ्रीमा पुग्ने आशालाई जीवितै राखेको छ । आज सम्पन्न समूहको आफ्नो अन्तिम खेलमा बहराइनलाई डीएलएस पद्धतिमा ६ विकेटले पराजित गर्दै नेपालले एसिया क्षेत्र छनोट हुँदै ग्लोबल छनोटमा पुग्ने र पहिलो पटक टी-२० विश्वकप खेल्ने झिनो सम्भावनालाई कायमै राखेको हो ।

थाइल्यान्डको, बैंककस्थित ट्रेडथाइ क्रिकेट स्टेडियममा बहराइनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गरेको थियो । तर पहिलो इनिङ्समा १२ ओभर ४ बलको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो । खेल रोकिनुअघि बहराइनले ७६ रन जोड्दा ३ विकेट गुमाएको थियो । उसका लागिथरंगाले १२, गजनायके रसिका रोड्रिगोले २४ र दीपिका रासंगिकाले २३ रन बनाएका थिए । तीनै जना ब्याटर रन आउट भएका थिए ।

जवाफमा नेपालले डीएलएस पद्धतिका आधारमा ७ ओभरमा पाएको ५६ रनको लक्ष्य ८ बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

खराब सुरुआत गरेको नेपालका लागि ओपनर सम्झना खड्काले ५ रन मात्र बनाउन सकिन् । उनी रन आउट भइन् । अर्की ओपनर रुवी पोदार १ रनमा लेगविफोर आउट भइन् । यस प्रतियोगितामा पहिलो ब्याटिङ गर्ने अवसर पाएकी कविता जोसीको ब्याटबाट पनि रन आउन सकेन उनी डकआउट भइन् । उपकप्तान पूजा महतोले १३ रनको इनिङ्स खेलिन् । 

कप्तान इन्दु बर्माले ७ बलमा अविजित २४ रनको आक्रमक इनिङ्स खेल्दै नेपाललाई जित दिलाइन् । रुविना क्षेत्री ४ रनमा नटआउट रहिन् । बहराइनका लागि सबै ३ विकेट पवित्राले हात पारिन् ।

अन्तराष्ट्रिय क्रिकेटमा बहराइनविरुद्ध नेपालको यो लगातार चौथो जित हो । नेपालले बहराइनसँग हालसम्म हार बेहोरेको छैन । अब भोलि हुने खेलमा बहराइनले हङकङलाई पराजित गरे नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ ।