रूपन्देही । लामो समयदेखि अत्यधिक रासायनिक मलको प्रयोगले नेपालको माटो कमजोर हुँदै गएको छ । तत्काल उत्पादन बढे पनि माटोको उर्वराशक्ति दिनदिनै खस्किँदै गएको छ । यस्तो बेला, जापानी प्रविधिबाट नेपालमै उत्पादन भएको अर्ग्यानिक दानेदार मल किसानका लागि नयाँ आशा बनेको छ ।
रूपन्देहीमा उत्पादन भएको रत्नम अर्ग्यानिक दानेदार मल अर्ग्यानिक तत्त्वहरूको संयोजनबाट बनेको छ । जसमा निम खली, बोन मिल, सूक्ष्म जीवयुक्त पदार्थ, फस्फोरस, पोटासियम र विभिन्न सूक्ष्म पोषक तत्त्व मिसाइएको छ । यो मलमा बिरुवालाई चाहिने १४ वटा तत्त्व छन् । यसले माटोलाई बलियो बनाउने, बिरुवा स्वस्थ राख्ने र उत्पादन बढाउने भएकाले किसानमाझ लोकप्रिय बन्दै गएको छ । अर्ग्यानिक मलले बिस्तारै काम गर्छ, तर माटोको गुणस्तर सुधार्छ । पानी थाम्ने क्षमता, रोग सहन शक्ति, र सूक्ष्म जीवको संख्या बढाउँछ ।
पछिल्लो समय किसानहरूले तरकारी र गहुँ बालीमा रत्नम मल प्रयोग गर्दा उत्पादन बढेको बताए । यो मल एक बालीमा एक चोटी प्रयोग गरे पुग्छ । जसले किसानको लागत समेत घटाएको छ ।
बजारमा प्रमाणित नगरेका र पोषक सन्तुलन नभएका अर्ग्यानिक मलले किसान ठगिएका छन् । यो मल जापानी प्रविधिबाट बनेको हो । रासायनिक मलजस्तै तुरुन्त असर नदेखिए पनि दीर्घकालीन असर निकै राम्रो छ । दैनिक दुई सय मेट्रिक टन मल उत्पादन गर्ने क्षमता भए पनि हाल यो उद्योग ४० प्रतिशत क्षमतामा चलिरहेको छ । माग बढेपछि उत्पादन बढाउने तयारीमा उद्योग छ । सरकारले नीति परिवर्तन गरे अर्ग्यानिक मलको प्रयोग बढ्ने कृषि विज्ञहरूको विश्वास छ ।
नेपालमा हरेक वर्ष अर्बौं रुपैयाँको रासायनिक मल आयात हुन्छ । जसले उत्पादन त दिन्छ, तर माटो बिगार्दिन्छ । अर्ग्यानिक मल वातावरणमैत्री, दीर्घकालीन असर कम हुने र स्वदेशी समाधान हो ।