काठमाडौं । बार्सिलोनाले स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाको २८औं उपाधि जितेको छ। गएराति स्पेनिश डर्बीमा एस्पान्योलमाथि २-० को जित दर्ता गर्दै बार्साले दुई खेल अगावै लिगको उपाधि पक्का गरेको हो।
गएराति बार्सिलोनालाई जित दिलाउने क्रममा १७ वर्षे खेलाडी लेमिन यामालले निकै उत्कृष्ट प्रदर्शन गरे। खेलको ५३औं मिनेटमा यामालले बक्सको छेउबाट बल घुमाउँदै पोस्टको बायाँ कुनामा गोल गरेर पाहुना टोली टोलीलाई अग्रता दिलाएका थिए।
यो सिजनमा उनको यो १७औं गोलसमेत हो। त्यसैगरी इन्जुरी समयमा यामालकै पासबाट फर्मिन लोपेजले दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका हुन्। अहिले अंकतालिकामा बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडभन्दा ७ अंकको अग्रता बनाएको छ।
रियल मड्रिडले बाँकी खेल जिते पनि बार्सालाई भेट्न असम्भव भएपछि बार्सिलोनाले लिगको उपाधि कब्जा गरेको हो। यता, एस्पान्योलका डिफेन्डर लिआन्ड्रो काब्रेराले ८०औं मिनेटमा यामालमाथि हात प्रहार गरेपछि उनलाई रेफ्रीले भीआरको रिभ्युबाट सीधै रातो कार्ड देखाए।
त्यसपछि घरेलु दर्शकमाझ एस्पान्योल १० खेलाडीमा समेटिएको थियो। यो सिजन बासिलोनाले कोपा डेल रे र स्पेनिस सुपर कप पनि जितेको छ। प्रशिक्षक हान्सी फ्लिकका लागि पहिलो सिजनमै घरेलु तीनै उपाधि जित्न सफल हुनु उल्लेखनीय उपलब्धि हो।
उनले यो सिजनका सबै एल क्लासिको खेलमा रियल मड्रिडलाई हराएका छन। उपाधि जितेपछि फ्लिकले बार्सामा उपाधि जित्नु पर्छ भन्ने सोचका साथ अघि बढेको र तीन उपाधि जित्नु अविश्वसनीय रहेको बताएका छन।
बार्सिलोनाले यस सिजन सबै प्रतियोगितामा गरेर १ सय ६९ गोल गर्दै उत्कृष्ट प्रदर्शन गर्यो। च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको बार्साले इन्टर मिलानसँग रोमाञ्चक खेलमा हार बेहोरेको थियो। एस्पान्योलको मैदान आरसीडीई स्टेडियम बार्साका लागि भाग्यमानी रहँदै आएको छ।
उनीहरूले सन् २०२३ मा पनि यही मैदानमा उपाधि जितेका थिए। रोचक कुरो के छ भने सन् १९९० यता बार्साले क्याम्प नोउमा दुई पटक मात्र लिगको उपाधि जितेको छ। खेलपछि केही खेलाडीबीच झगडा देखिए पनि बार्साका समर्थकहरू उत्सव मनाउन थालिसकेका थिए।
मैदान व्यवस्थापनले बार्साका खेलाडीलाई हटाउन स्प्रिंकल चलाएका थिए। सन् २०२३ मा पनि यहाँ उपाधि जित्दा समर्थकहरू मैदान छिरेपछि खेलाडीहरू दौडेर ड्रेसिङ रूम पुगेका थिए। अब बार्सिलोनाले आज सहरमा खुला बसमा विजय यात्रा गर्ने र आइतबारको भिल्लारियलविरुद्धको घरेलु खेलमा उपाधि ट्रफी प्राप्त गर्ने कार्यक्रम रहेको छ।
तर, पहिलो हाफमा एक दुर्भाग्यपूर्ण घटना हुँदा खेल केहीबेर रोकिएको थियो। रंगशालाबाहिर एक गाडी दर्शकमा गुडेपछि १३ जना घाइते भए, जसमा ४ जनालाई अस्पताल लगिएको थियो। गम्भीर अवस्था भने नभएको जनाइएको छ।
ला लिगमा गएराति नै भएको अर्को खेलमा भने एट्लेटिको मड्रिडले ओसासुनालाई हराएको छ।