काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले फोर्ब्सको सर्वाधिक कमाउने खेलाडीको शीर्षस्थानमा परेका छन। उनी लगातार तेस्रो वर्ष शीर्ष स्थानमा कायम रहेका हुन्।
सन् २०२५ मा उनले आफ्नो अनुमानित कुल आम्दानी १५ मिलियन डलरले बढाउँदै २ सय ७५ मिलियन डलर, करिब २६ अर्ब ६६ करोड नेपाली रूपैयाँ पुर्याएका छन।
यो आम्दानी अहिलेसम्मका लागि बक्सिङका पूर्व विश्व च्याम्पियन फ्लोइड मेवेदरको आम्दानीभन्दा कम भएपनि दोस्रो स्थानमा पर्छ। मेवेदरले सन् २०१५ मा ३ सय मिलियन डलर र सन् २०१८ मा २ सय ७५ मिलियन डलर कमाएका थिए।
रोनाल्डो सन् २०२२ को डिसेम्बरमा साउदी प्रो लिगको क्लब अल नासरमा अनुबन्धित भएदेखि उनले खेल मैदान बाहिरका विज्ञापन, ब्रान्ड प्रमोशन तथा सामाजिक सञ्जालको प्रभावमार्फत् आम्दानीमा ठूलो वृद्धि गरेका छन।
हाल उनका सामाजिक सञ्जालमा जम्मा ९३ करोड फलोअर्स छन। त्यसैगरी, यो सूचीमा दोस्रो स्थानमा रहेका बास्केटबल सुपरस्टार स्टेफन करीले १ सय ५६ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन।
गोल्डेन स्टेट वारियर्सका गार्ड करी यसै वर्ष ४ हजार थ्री-प्वाइन्ट स्कोर पुरा गर्ने पहिलो एनबीए खेलाडी बनेका थिए। तेस्रो स्थानमा भने बेलायती बक्सर टायसन फुरी छन ।
उनले युक्रेनी बक्सर ओलेक्सान्दर उसिकसँग हारेर आफ्नो विश्व उपाधि गुमाए पनि नेटफ्लिक्स रियालिटी शो र माल्टाको पर्यटन साझेदारीमार्फत् १ सय ४६ मिलियन डलर कमाएका छन।
यो वर्ष रोनाल्डोका पुराना प्रतिस्पर्धी लियोनेल मेस्सीको आम्दानीमा भने गिरावट आएको छ। गत वर्ष तेस्रो स्थानमा रहेका मेस्सी यो वर्ष पाँचौं स्थानमा झरेका छन।