कैलाली । नेपाल आयल निगमको धनगढी डिपो स्थानान्तरणको लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । जग्गा कारोबारी र निगमका अधिकारीहरू बीचको मिलेमतोमा गोदावरी नगरपालिका- ७ मा हाइटेन्शन प्रसारण लाइनमुनि रहेको झन्डै २० बिघा जग्गामा डिपो सार्न जग्गा खरिद प्रक्रिया अघि बढाइएको हो ।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको उक्त जग्गामा १३२ केभीएको लाइन छ भन्ने थाहा हुँदाहुँदै निगमका अधिकारीहरूले कमिसनको लोभमा जग्गा लिन लागेको भन्दै आलोचना भएको छ । २० बिघा १६ कठ्ठा ८ धुर जग्गा धेरै व्यक्तिको जग्गा रहेको र हाइटेन्शन पनि रहेको भन्दै निगमकै केही अधिकारीहरूले भने असहमति जनाएका छन् । डिपो सार्ने भनिएको स्थानमा हाइटेन्शन लाइन भएकाले त्यहाँ जोखिम हुनसक्ने स्थानीयको चिन्ता छ । निगमले भने जग्गा खरिद प्रक्रिया प्रारम्भिक चरणमै रहेको जवाफ दिएको छ ।
हाल धनगढी उपमहानगरपालिका-३ चटकपुरमा आयल निगमको डिपो छ । २०३७ सालमा स्थापना भएको १८ कठ्ठामा रहेको यो डिपोमा एक हप्ताका लागि मात्रै पेट्रोलियम भण्डारण क्षमता छ । अब बन्ने डिपोमा करिब ३ महिना पुग्ने तेल भण्डारण गर्न सकिनेछ । बजारको बीचमा रहेकाले जोखिमयुक्त भन्दै धेरै वर्षअघिदेखि यसलाई सार्ने तयारी भइरहेको थियो । तर मन्त्री र कर्मचारी र निगमका अधिकारीबीच कमिसनको कुरा नमिल्दा प्रक्रिया अघि बढेको थिएन ।
निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा बनेको खरिद समितिले यो जग्गा उपुक्त रहेको भन्दै किन्ने तयारी गरेको हो ।