काठमाडौं । बोलोन्याले ५१ वर्ष देखिको उपाधि खडेरी तोडेको छ । गएराति कोपा इटालियाको फाइनलमा एसी मिलानलाई १-० गोलले पराजित गरेपछि बोलोन्याको प्रतिक्षा समाप्त भएको हो ।
रोममा भएको खेलमा बोलोन्याले आठौं मिनेटमा गोल गर्ने अवसर पाएको थियो । हुवान मिरान्डाको पासमा सान्टियागो क्यास्ट्रोको हेडर मिलानका गोलकिपरले बचाए ।
दशौं मिनेटमा मिलानले अग्रता लिने मौका पाएपनि सफल हुन सकेन । आलेक्स हिमिनेजको प्रहार बोलोन्या गोलकिपरले रोके । रिवाउन्डमा लुका जोभिचको प्रहारलाई गोलकिपर लुकास कारोप्स्कीले पुन: जोगाएपछि मिलान निरास बनेको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ५३औं मिनेटमा बोलोन्याले डेडलक तोड्यो । चोटबाट फर्किएका डान डोएले गोल गरेका हुन् । बाँकी समयमा मिलानले पुनरागमन गर्न नसक्दा डोएको गोलनै बोलोन्यालाई सन १९७४ पछि पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि जित्न पर्याप्त बन्यो ।
यो जितपछि बोलोन्याले अर्को सिजनको युरोपा लिगमा पनि स्थान सुरक्षित गरेको छ । २००३ यता कोपा इटालिया जित्न नसकेको मिलानको भने अझै निश्चित भएको छैन ।
बोलोन्या प्रशिक्षक भिन्चेन्जो इटालियानोको पनि यो पहिलो उपाधि हो । फियोरिन्टामा दुई सिजन बिताउँदा उनले तीन फाइनल हारेका थिए । समग्रमा बोलोन्याको यो तेस्रो कोपा इटालिया उपाधि हो ।
यसअघि उ १९७० र १९७४ मा च्याम्पियन बनेको थियो । फाइनल जितेपछि बोलोन्या प्रशिक्षक भिन्चेन्जोले पछिल्लो पटक मिलानसंग बेहोरेको हारबाट पाठ सिकेको प्रतिक्रिया दिए । गत शुक्रबार भएको सिरी आ मा मिलानले, बोलोन्यालाई तीन एक गोलले पराजित गरेको थियो ।