आफूलाई पदबाट हटाउन क्यान अध्यक्ष चन्दले षड्यन्त्र गरेको गुरुङको आरोप

वैशाख ३१, २०८२ |खेल ब्युरो
आफूलाई पदबाट हटाउन क्यान अध्यक्ष चन्दले षड्यन्त्र गरेको गुरुङको आरोप

काठमाडौं । लुम्बिनी प्रदेश क्रिकेट संघका निलम्बित अध्यक्ष सञ्जय गुरुङले आफूलाई पदबाट हटाउन नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज पत्रकार सम्मेलन गर्दै आफूमाथि अविश्वासको प्रस्ताव राख्न चन्दले प्रदेश क्रिकेट संघका सदस्यहरूलाई प्रलोभनमा पारेर हस्ताक्षर संकलन गरेको आरोप लगाएका हुन् । 

प्रदेशको आन्तरिक छलफलबिनै सिधै क्यानको केन्द्रीय कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराउने कदम अपमानजनक भएको उनको भनाइ छ ।

क्यानको पत्र सचिव र सचिवालयमार्फत आउनुपर्नेमा क्यान अध्यक्षले आफैं हस्ताक्षर गरेर पठाउनु प्रतिशोधात्मक भएको उनले बताए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने गुरुङको कार्यशैलीप्रति प्रदेशका सदस्य जिल्लाबाटै असन्तुष्टि आएपछि यो कदम चालिएको बताएका छन् । बहुमतभन्दा बढी सदस्यले आर्थिक रूपमा अध्यक्षको कार्यशैलीमा शंका व्यक्त गरेपछि क्यानले आवश्यक कदम चालेको चन्दको भनाइ छ ।

कोषाध्यक्षको हस्ताक्षरबिना प्रदेश संघ चलाउनु विधानविपरीत भएको चन्दले बताए । २०८० माघ १० गते कोषाध्यक्ष राजेश श्रेष्ठको निधन भए यता लुम्बिनी प्रदेश क्रिकेट संघ कोषाध्यक्षविहीन छ । हाल क्यानले लुम्बिनी प्रदेश क्रिकेट संघलाई ११ लाख रुपैयाँ भुत्तानी गरेको छैन ।