कान्तिपुर इकोनोमिक समिट : निजी क्षेत्रको मनोबल उकास्न प्रयासरत रहेको सरकारको दाबी

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर इकोनोमिक समिट : निजी क्षेत्रको मनोबल उकास्न प्रयासरत रहेको सरकारको दाबी

काठमाडौं । सरकारले निजी क्षेत्रको मनोबल उकास्न र समस्या समाधान गर्न प्रयासरत रहेको दाबी गरेको छ । कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित 'कान्तिपुर इकोनोमिक समिट २०२५' मा अर्थमन्त्री विष्णु पौडेलले सरकार निजी क्षेत्रको मनोबल उकास्न लागिरहेको दाबी गर्नुभएको हो ।

मन्त्री पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्न पहल गरेको उल्लेख गर्दै सरकारले चालेको कदमको परिणाम आउन भने समय लाग्ने उहाँको भनाइ छ । मन्त्री पौडेलले कानुनी तथा संरचनागत समस्याका कारण पुँजीगत खर्च बढ्न नसकेको बताउनुभयो ।

कार्यक्रमको पहिलो सत्र 'ठूला करदातासँग संवाद : अपेक्षा र अनुभव' मा बोल्दै उद्योगी तथा बैंकरहरूले बहुराष्ट्रिय तथा विदेशी लगानीकर्ता मात्र नभई स्वदेशी पनि नेपालमा लगानी गर्ने आत्मविश्वास नभएको बताए । यस्तै, आफूले बुझाएको करको सदुपयोग भएको हेर्न चाहेको र पुँजीगत खर्च बढाउन जरुरी रहेको पनि उद्योगीहरूले बताएका छन् ।

कार्यक्रमको दोस्रो सत्र 'अंक होइन, अर्थको खोजी' मा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र प्रविधि तथा वित्तिय क्षेत्रकी शोधकर्ता अमृता शर्माले निजी क्षेत्रले उठाउँदै आएका कुरा सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउने गरे पनि कार्यान्वयन सुस्त रहेको बताएका थिए ।

पूर्वअर्थसचिव रामेश्वर खनाल र अर्थसचिव घनश्याम उपाध्यायले आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

रोजगारी सिर्जना,निजी क्षेत्रको भरोशा र विश्वास जाग्ने गरी बजेट ल्याउनुपर्ने भन्दै वक्ताहरूले अर्थतन्त्रको वर्तमान अवस्था बदल्न सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रको दृष्टिकोण बदल्नुपर्नेमा जोडदिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.