काठमाडौं । नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानले नेपाल क्रिकेट संघ क्यानले गरेको सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् । क्यानको वरीयतामा 'ए ग्रेड'का खेलाडी सन्दीपले आज सूचना जारी गरेर क्यानको 'सेन्ट्रल कन्ट्राक्ट'मा हस्ताक्षर नगर्ने बताएका हुन् ।
उनले आफ्नो क्षमता अभिवृद्धिमा क्यानको सहयोगको स्मरण गर्दै यो निर्णयले आफ्नो क्रिकेटप्रतिको लगाव कम नहुने पनि उल्लेख गरेका छन् । उनले यो निर्णयका लागि धेरै सोचेको समेत स्पष्ट पारे । सन्दीपले यसलाई आफ्नो व्यक्तित्व र पेशागत जीवन सुधारतर्फको एउटा पाइला रहेको सामाजिक सञ्जालमा उल्लेख गरे ।
क्यानका प्रवक्ता छुम्बी लामाले यसबारे क्यानमा आधिकारिक जानकारी आइनसकेको र छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।
सन्दीपले नेपाली क्रिकेट टिमका लागि ५८ एक दिवसीय अन्तर्राष्ट्रिय र ५८ नै टी-२० आई खेलेका छन् । यसक्रममा उनले एक दिवसीयमा १ सय २१ विकेट लिँदा टी-२० मा १ सय ८ विकेट आफ्नो नाममा गरेका छन् ।
नियमित नेपाल क्रिकेट टिमबाट खेल्दै आएका सन्दीपले २१ वर्षको उमेरमा नै नेपाली टिमको कप्तानी गर्ने अवसर पाएका थिए । तर, यौन दुर्व्यवहारको मुद्दामा उनी मुछिएपछि उनलाई क्यानले निलम्बन गरेको थियो । पछि उच्च अदालतबाट साफइ पाएपछि उनी पुनः राष्ट्रिय क्रिकेट टिममा छन् ।
सन्दीपले ११ रन मात्रै खर्च गरेर ६ विकेट लिनु नेपाली क्रिकेट टिमका लागि अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । बागमतिबाट घरेलु क्रिकेट खेलेका उनले नेपाल प्रिमियर लिगमा विराटनगरको कप्तानी गरेका थिए ।