गुमेको साख फर्काउन ब्राजिलको महत्वकांक्षा डुब्नै लागेको जहाजको कप्तानी कार्लो एन्सेलोटीले लिए

ब्राजिलियन फुटबललाई पुन: परिभाषित गर्ने यात्रामा
जेष्ठ १, २०८२ |सुवास रोकाया
गुमेको साख फर्काउन ब्राजिलको महत्वकांक्षा डुब्नै लागेको जहाजको कप्तानी कार्लो एन्सेलोटीले लिए

काठमाडौं । सन् २००२ मा पाँचौं पटक विश्वकप उपाधि जितेपछि ब्राजिलले विश्व फुटबलमा खास प्रदर्शन गर्न सकेको छैन । जोगो बोनिटो अर्थात् सुन्दर खेल फुटबलको जन्मभूमि ब्राजिललाई पछिल्ला दशकमा विश्वकप मै स्थान बनाउनसमेत संघर्ष गरिरहनुपरेको छ । 

यस पटक भने युरोपेली फुटबलको प्रतिष्ठित नाम कार्लो एन्सेलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गर्दै दक्षिण अमेरिकी टोली ब्राजिलले आफ्नो साख फिर्ता गर्ने लक्ष्य राखेको छ ।

ब्राजिल, जसको शीरमा विश्व फुटबलको मुकुट लामो समयसम्म सजिएको थियो । जोगो बोनिटो अर्थात् सुन्दर खेल फुटबलको जन्मभूमि, जुन खेलको भाषा, शैली र आत्मा ब्राजिलमा छ । 

तर, पछिल्ला दुई दशकमा, त्यो चमक फिका हुँदै गएको छ । सन् २००२ मा पाँचौं पटक विश्वकप उपाधि जितेपछि ब्राजिल फेरि त्यो उचाइमा पुग्न सकेको छैन । २०१४ मा आफ्नै भूमिमा जर्मनीसँगको ७-१ को अपमानजनक हार, २०१८ मा बेल्जियमसागको हार र २०२२ मा क्रोएसियासँगको पेनाल्टी ट्राजेडी यी सबैले ब्राजिललाई पीडा मात्र दिएको छैन, फुटबलको आत्मविश्वासमै चोट पुर्‍याएको छ ।

यही सन्दर्भमा, ब्राजिल फुटबल संघले एउटा असाधारण निर्णय गरेको छ । इतिहासकै सबैभन्दा सफल युरोपेली प्रशिक्षकमध्येका एक कार्लो एन्सेलोटीलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मा दिएको छ ।

कार्लो एन्सेलोटी एउटा यस्तो नाम हो- जसको उपस्थितिले नै ड्रेसिङ रूममा अनुशासन, आत्मबल र भरोसा फैलिन्छ । पाँच पटक च्याम्पियन्स लिग जितेका उनी इटाली, इंग्ल्यान्ड, जर्मनी, फ्रान्स र स्पेन सबैतिर सफलता चुम्ने दुर्लभ प्रशिक्षकमध्ये एक हुन् । उनका टिमहरू सधैं रणनीतिक र भावनात्मकरूपमा सन्तुलित तथा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेका छन ।

रियाल मड्रिडमा उनले ब्राजिलियन खेलाडीहरूसँग घनिष्ठ सम्बन्ध बनाएका छन । भिनिसियस जुनियर, रोड्रिगो, कासेमिरो, एन्ड्रिक र मिलिताओसागको उनको कामले नै उनलाई ब्राजिलको फुटबल फ्लेबरलाई बुझ्ने युरोपेली बनाएको हो । विशेषगरी भिनिसियसले उनीसँगै आफनो प्रतिभा पूर्णरूपमा उजागर गरेका छन ।

ब्राजिलले यसअघि विदेशी प्रशिक्षकप्रति संकोच देखाउँदै आएको थियो । यसअघि केवल तीन गैर-ब्राजिलियनहरूले मात्र राष्ट्रिय टिमको जिम्मेवारी पाएका छन । त्यो पनि एक-एक खेलका लागि मात्र । 

तर, यो सोच सन् २०१९ मा जोर्ज जिससले फ्लामेङ्गोलाई कोपा लिबर्टाडोरेस जिताएपछि विस्तारै बदलिन थालेको हो । ब्राजिलियन फुटबलले अब यथार्थवादी सोच परिवर्तन गरेको छ । 

केवल नृत्यमय डि्रबल र कठिन ट्याकल मात्र होइन, रणनीति, अनुशासन र सामूहिकता पनि आवश्यक रहेको ब्राजिलले बुझेको देखिन्छ । एन्सेलोटीको आगमन यसैको निरन्तरता हो । अब उनले ब्राजिललाई भावनाभन्दा माथि उठाएर आत्म-संयम र रणनीतिक परिपक्वताको बाटोमा लैजाने अपेक्षा गरिएको छ ।

सन् २०२६ को विश्वकप ब्राजिलका लागि केवल प्रतियोगिता मात्र हुने छैन । पुनरागमनको अवसर पनि हुनेछ । एन्सेलोटीले यदि राष्ट्रिय टिमलाई एकजुट बनाउन र युवा प्रतिभालाई सेपमा ल्याएर नयाँ आत्मविश्वास दिलाउन सके ब्राजिल फेरि फुटबलको आफ्नो पुरानो सिंहासनमा र्फकन सक्छ ।

एन्सेलोटीले केवल एउटा टिमलाई जिताउने सपना देखिरहेका छैनन् । उनी ब्राजिलियन फुटबललाई पुन: परिभाषित गर्ने यात्रामा छन । परम्परा र आधुनिकताको सन्तुलन बनाउँदै, उनी ब्राजिललाई फेरि विश्व फुटबलको आदर्श बनाउने लक्ष्यमा छन ।

ब्राजिल फुटबलको सम्भवतः यो सबैभन्दा साहसिक र ऐतिहासिक निर्णय हो । पाँच पटकको विश्वविजेताले अब एक विदेशी प्रशिक्षकलाई आफ्नो डुब्दै गरेको जहाजको कप्तानी सुम्पिएको छ । 

यो केवल प्रशिक्षक परिवर्तन होइन, ब्राजिल जित्नका लागि परिवर्तन गर्न तयार छ भन्ने घोषणा पनि हो । जोगो बोनिटो अर्थात सुन्दर खेल फुटबललाई परिभाषित गर्ने देश ब्राजिलले अब युरोपियन अनुशासन र रणनीतिमा भरोसा गर्न थालेको छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।