गत वर्ष भत्किएका सडक अझै मर्मत भएनन्, ३२ स्थान जोखिममा

वैशाख ३१, २०८२ |विकास आचार्य
गत वर्ष भत्किएका सडक अझै मर्मत भएनन्, ३२ स्थान जोखिममा

काठमाडौं । यस वर्षको मनसुन सुरु हुन अब केही दिन मात्र बाँकी छ । अहिले प्रि मनसुन चलिरहेको छ र दिनदिनै जसो ठाउँठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षा सुरु हुनासाथ हाम्रो अर्को चुनौती हो– बाढी, पहिरो र डुबान । 

गत वर्षकै वर्षाले क्षति पुर्‍याएका सडक अहिले सामान्य पानी पर्दा भत्किन थालेका छन् । सरकारले जोखिम न्यूनीकरणको पूर्वतयारी त गरेको छैन नै गत वर्ष भत्किएका सडक समेत बनाउन सकेको छैन ।

आइतबार मध्यम वर्षा हुँदा बीपी राजमार्गको चौकीडाँडा-नेपालथोक खण्डको तीन ठाउँमा अस्थायी सडक बगायो । सडक डिभिजन कार्यालय सिन्धुली र काभ्रेले पुन: अस्थायी डाइभर्सन बनाएर सवारी साधन सञ्चालन गराए पनि फेरि पानी पर्नासाथ सडक बगाउने जोखिम कायमै छ । रोशी खोलामै आएको बाढीले महाभारत गाउँपालिका जोड्ने अस्थायी पुल बगाउँदा महाभारत गाउँपालिकासँगको सडक सञ्जाल टुटेको छ ।

नेपालमा चैत, वैशाख र जेठलाई प्रि मनसुनको समय भनिन्छ । यो बेला स्थानीय र पश्चिमी वायुको प्रभावले हल्कादेखि मध्यम वर्षा हुन्छ । तर, यस पटक प्रिमनसुनमा परेको पानीले जनजीवन प्रभावित मात्रै भइरहेको छैन काभ्रेमा एक महिलाको ज्यानै पनि गयो । वैशाख २१ गते पनि हल्का वर्षा हुँदा बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको थियो । 

मनसुन भित्रिन लाग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका ६ राष्ट्रिय राजमार्गका ३२ ठाउँलाई जोखिमको सूचीमा राखेको छ । पृथ्वी राजमार्गका ४, बीपीका १६, अरनिकोका ४, कान्तिका ४, पूर्वपश्चिम राजमार्गका २ र मेची राजमार्गका २ स्थानलाई जोखिमको सूचीमा राखिएको हो ।

गत वर्ष असोज दोस्रो साता आएको बाढी र पहिरोले विभिन्न राजमार्गमा क्षति पुर्‍याएको थियो । बीपी राजमार्गको त करिब ८ किलोमिटर खण्ड नै बगाएको थियो । यी सडकमा अझै स्थायी संरचना निर्माण सुरु भएको छैन । जसले गर्दा सामान्य पानी पर्दा नै थप क्षति हुने गरेको हो ।

सडक भत्किएमा मर्मतमा मात्र चासो दिएको सरकारले क्षति हुनै नदिने गरी रणनीति बनाउन सकेको छैन । यसले गर्दा पनि बर्सेनि वर्षात्‌का बेला राजमार्गहरू अस्तव्यस्त हुने गरेका हुन् । अझ यस वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विभागले गरेको छ । 

तर, सरकारको काम गर्ने गति सुस्त छ । जबकि ७ महिनाअघि भत्किएका सडकको स्थायी संरचना निर्माण त परको कुरा ठेक्का समेत लागेको छैन ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।