यानिक सिनर इटालियन ओपनको क्वार्टरफाइनलमा प्रवेश

वैशाख ३१, २०८२ |खेल ब्युरो
यानिक सिनर इटालियन ओपनको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । विश्व नम्बर एक यानिक सिनर इटालियन ओपन टेनिसको क्वार्टरफाइनल प्रवेश गरेका छन । रोममा गएराति भएको अन्तिम १६ को प्रतिस्पर्धामा स्थानीय खेलाडी सिनरले अर्जेन्टिनाका फ्रान्सिको सेरून्डोलोलाई सोझो सेटमा पराजित गरेका हुन् । 

तर, सिनरका लागि यो जित सहज भने भएन । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा १७औं वरियताका सेरून्डोलोले सिनरलाई कडा चुनौती दिए । 

एक घन्टा १७ मिनेटसम्म चलेको पहिलो सेट टाइब्रेकरमा पुग्यो । तर, २३ वर्षीय सिनरले ७-६ ले आफ्नो पक्षमा पारे । दोस्रो सेट केही सहज भयो । घरेलु समर्थकको साथ पाएका सिनरले दोस्रो सेट ६-३ ले जित्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन् । दुई घन्टा १६ मिनेटपछि खेलको नतिजा आएको हो । 

सिनर २४ खेल यता अपराजित छन । जर्मनीका अलेक्जेन्डर ज्वेरेभ पनि क्वाटरफाइनल पुगेका छन । उनले फ्रान्सका अर्थर फिसलाई सोझो सेटमा हराएका हुन् । पहिलो सेट टाइब्रेकरमा ७-६ ले जितेका साविक विजेता ज्वेरेभले दोस्रो सेट ६-१ ले आफ्नो पक्षमा पारेका हुन् । 

यस्तै अर्को प्रि क्वार्टरफाइनलमा अमेरिकाका टम्मी पलले अस्ट्रेलियाका आलेक्स ड मिनोलाई सोझो सेटमा पराजित गरेका छन । वर्षाका कारण ढिलो सुरू भएको खेलमा पलले पहिलो सेट ७-५ ले जिते । दोस्रो सेटमा एघारौं वरियताका पलले ड मिनोलाई ६-३ ले हराएका थिए । 

अब उनले सेमीफाइनल प्रवेशका लागि पोल्यान्डका हुबर्ट हुर्कासको सामना गर्नेछन् । कास्पर रूड र जाउमा मुनारबीचको खेल भने वर्षाका कारण आजलाई सर्यो ।