काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका कारण ९ मेमा स्थगित गरिएको इन्डियन प्रिमियर लिग-आईपीएल १७ मेदेखि पुनः सुरू हुने भएको छ ।
भारतीय क्रिकेट बोर्ड-बीसीसीआईले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएको हो । अब बाँकी रहेका १३ लिग चरणका खेलहरू ६ फरक फरक स्थानहरूमा आयोजना गरिनेछन् ।
प्लेअफ चरण २९ मेदेखि सुरू हुनेछ भने फाइनल खेल ३ जुनमा हुनेछ । आईपीएलमा हाल १७ खेलहरू बाँकी छन । जसमा १३ लिग चरणका र ४ प्लेअफ चरणका खेलहरू छन ।
आईपीएल पुनः सुरू भएपछि पहिलो खेलमा १७ मेमा रोयल च्यालेन्जर्स बैंगलुरू र कोलकाता नाइट राइडर्सबीच बैंगलोरूमा खेल हुने छ । बाँकी खेलहरू जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा हुनेछन। २७ मेमा लिग चरणको अन्तिम खेल खेलिनेछ। १८ मे र २५ मे, मा डबल हेडर खेल आयोजना गरिनेछन । ११ दिनमा लिग चरणका १३ खेल सकिनेछन ।
८ मेमा धर्मशालामा जारी पञ्जाब र दिल्लीबीचको खेल पाकिस्तानकको आक्रमणका कारण रोकिएको थियो । अब उक्त खेल २४ मेमा जयपुरमा हुनेछ ।
प्लेअफ चरणका खेलहरू कुन-कुन स्थानमा हुनेछन् भन्ने विषयमा हालसम्म निर्णय गरिएको छैन। सुरूमा हैदराबाद र कोलकातामा दुई-दुई प्लेअफ खेल आयोजना गर्ने योजना थियो ।
मुम्बई, कोलकाता, राजस्थान र चेन्नईले दुई-दुई लिग खेलहरू खेल्न बाँकी छ । अन्य सबै टिमहरूको तीन-तीन खेल बाँकी छन ।
आईपीएलमा सहभागी १० टिमहरूमध्ये तीन टिमहरू हैदराबाद, राजस्थान र चेन्नई-पहिले नै प्लेअफ होडबाट बाहिर भइसकेका छन । बाँकी ७ टिमहरू प्लेअफ स्थानका लागि प्रतिस्पर्धामा कायम छन ।
आईपीएल स्थगित गर्ने निर्णयपछि बीसीसीआईले विदेशी खेलाडी र सहयोगी स्टाफहरूलाई आफ्नो देश र्फकन अनुमति दिएको थियो । अब उनीहरूलाई पुनः भारत बोलाइनेछ । तर अष्ट्रेलियाका केही खेलाडीहरूले विश्व टेस्ट च्याम्पियनशिपको फाइनल नजिकिएपछि भारत र्फकन अस्वीकार गर्न सक्ने अनुमान गरिएको छ ।
जुन ११ तारिखदेखि अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच टेस्ट च्याम्पियनशिपको फाइनल खेल हुँदैछ । त्यसपछि भारतीय टिमले २० जुनदेखि सुरू हुने इंग्ल्यान्ड भ्रमणमा ५ टेस्ट खेल खेल्नुपर्नेछ । बाँकी अन्तर्राष्ट्रिय टिमहरू पनि व्यस्त हुने भएकाले बीसीसीआईले बिलम्ब नगरी आईपीएल पुनः सुरू गर्ने निर्णय गरेको हो ।
आईपीएल पुनः सुरू गर्ने निर्णय भएसँगै नेपालमा कान्तिपुर म्याक्समा पनि प्रत्यक्ष प्रसारण हुने छ ।