काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै कार्यवाहक सभापति अर्यालले वर्षासम्बन्धित जोखिमबारे पूर्वतयारी थाल्न सरकारलाई सुझाव दिनुभएको हो । उहाँले वर्षा लाग्न बाँकी रहँदै बाढीले नागरिकलाई दुःख दिन थालेको बताउनु भयो ।
उहाँले प्रधानमन्त्री र मन्त्रीहरू हवाईजहाज र हेलिकप्टरमा सवार हुने हुँदा सडकको अवस्था जानकारी हुन नसक्ने भन्दै नागढुंगादेखि मुग्लिङसम्मको सडकको पुनःनिर्माण कछुवाको तालमा भइरहेको बताउनु भयो ।
उहाँले यस पटकको वर्षायाममा नागरिकले धेरै दुःख र कष्ट भोग्नुपर्ने मात्रै होइन सानादेखि ठूलासम्म दुर्घटना हुने धेरै सम्भावना देखिएकाले सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरूरी रहेको बताउनु भयो ।
कार्यवाहक सभापति अर्यालले तीन चरणमा काम गराएर भएपनि वर्षा अगावै जोखिम कम गराउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।