काभ्रेमा बाढी : एक जना बेपत्ता, भौतिक संरचनामा क्षति

वैशाख २९, २०८२ |पुजन धिताल
काभ्रेमा बाढी : एक जना बेपत्ता, भौतिक संरचनामा क्षति

काभ्रे । काभ्रेको पनौतीमा आज दिउँसोदेखि परेको वर्षाले नगर तथा आसपासका क्षेत्रहरू प्रभावित भएका छन् । पनौती नगरपालिका वडा नम्बर ३ देखि १० सम्म र रोशी तथा तेमाल गाउँपालिका बाढी, डुबान र पहिरोबाट प्रभावित भएका हुन् । 

बाढीका कारण पनौती–५ स्थित सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी बेपत्ता हुनुभएको छ । प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य जारी रहेको जनाइएको छ ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीका अनुसार गत वर्षको असोजको बाढीले क्षतविक्षत बनाएको र अस्थायी रूपमा मर्मत गरिएको खानेपानी पाइप प्रणाली पुनः बगाएको छ। त्यस्तै, झन्डै ३ किलोमिटर लामो अस्थायी सडक पनि बगाएको छ ।

वर्षाले खेतबारीमा रोपिएका आलु लगायतका बाली डुबानमा परेका छन् । यस्तै रोशी खोलामा पुनः बाढी आएपछि रोशी गाउँपालिका-६ स्थित सिपाली हुँदै महाभारत गाउँपालिका जाने सडकको ह्युम पाइप बगाएको छ । वर्षाको प्रभावले बीपी राजमार्ग समेत जोखिमपूर्ण भएको छ । 

स्थानीय प्रशासनले सवारी साधन सावधानीपूर्वक चलाउन आग्रह गरेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।