धनुषा । सरकारले बालविवाह उन्मूलन गर्न कानुन मात्र बनाएको छैन, सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । तर कलिला बालबालिकाको विवाहमा कमी आएको छैन् । त्यति मात्र होइन, सानै उमेरमा बच्चा जन्माउनेहरू पनि उत्तिकै छन् । मधेश प्रदेशमा कुल बच्चा जन्माउनेमध्ये १५ प्रतिशतभन्दा बढी त १५ देखि १९ वर्षका किशोरी छन् ।
शरीर पूर्णरूपमा विकसित हुनु अगाबै सानै उमेरमा बच्चा पाउनाले किशोरीमा विभिन्न खाले स्वास्थ्य समस्या हुने गर्दछ ।
२० वर्षभन्दा मुनिका बच्चा जन्माउने महिलाको संख्या देशैभरिमा १४.७८ प्रतिशत छ भने मधेशमा मात्र यो संख्या १५.६१ प्रतिशत रहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मधेशमा आर्थिक वर्ष २०७८/७९ मा ६२ हजार ३२०, २०७९/०८० मा ७१ हजार ३१४ र २०८०/०८१ मा ६८ हजार १३२ जनासहित २ लाख १ हजार ७६६ मध्ये १९ वर्षभन्दा मुनिको कलिलो उमेरमै बच्चा जन्माउने महिलाको संख्या ३१ हजार ५१५ रहेको छ । घर व्यवहार चलाउन र राम्रो केटासँग विवाह होस् भन्ने उद्देश्यले १२ कक्षाको पढाइ सकिने बित्तिकै विवाहका लागि छोरीहरूलाई दबाब दिने गरिएको छ ।
पछिल्लो समय विद्यालय पढ्ने उमेरमै भागी विवाह गर्नेको संख्या पनि निकै बढेको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार मुलुकमा ३५.१ प्रतिशत बालिकाको बालविवाह हुने गरेको छ भने मधेश प्रदेशमा यसको संख्या ४२.४ प्रतिशत रहेको छ । सबैभन्दा बढी धनुषामा ४७.५ प्रतिशत रहेको छ भने सबैभन्दा कम सप्तरीमा ३४.७ प्रतिशत मात्र छ । त्यसै गरी रौतहटमा ४७ प्रतिशत, महोत्तरीमा ४३.३ प्रतिशत, सर्लाहीमा ४२.६ प्रतिशत, सिरहामा ४२.१ प्रतिशत, बारामा ४०.२ प्रतिशत र पर्सामा ३८.९ प्रतिशत बालविवाह हुने गरेको हुने गरेको तथ्यांकले देखाउँछ ।
पछिल्लो समय मधेशकै केही सांसदहरूले विवाहको उमेर महिलाको हकमा अझ घटाउनु पर्ने माग गरेका थिए । उन्मूलनका लागि कानुनी व्यवस्था हुँदाहुँदै पनि आखिर किन बालविवाहको संख्यामा कमी आएन त ?
कलिलै उमेरमा बच्चा जन्माउँदा आमा र शिशु दुवैको मृत्युदर बढेको छ । प्रसूतिका बेला प्रति एक लाखमा २३९ जना आमा र प्रति हजारमा २० देखि २५ जना शिशुको मृत्यु हुने गरेको छ । शिक्षा र चेतनाको अभावमा कलिलो उमेरमै बच्चा जन्माउनुपर्ने बाध्यता किशोरीमा छ । यही कारण किशोरी र शिशुको ज्यान समेत जोखिममा परेको छ ।