२०२८ को ओलम्पिक र प्यारालिम्पिकको उद्घाटन तथा समापन समारोह स्थल सार्वजनिक

वैशाख २६, २०८२ |खेल ब्युरो
२०२८ को ओलम्पिक र प्यारालिम्पिकको उद्घाटन तथा समापन समारोह स्थल सार्वजनिक

काठमाडौं । लस एन्जलस-एलए २०२८ ओलम्पिक र प्यारालिम्पिकको उद्घाटन तथा समापन समारोह स्थल सार्वजनिक गरिएको छ । आयोजक समितिले सन् २०२८ को ओलम्पिक र प्यारालिम्पिक खेलकुदका लागि उद्घाटन तथा समापन समारोहका स्थलहरू घोषणा गरेको हो ।

उद्घाटन समारोह जुलाई १४ मा ऐतिहासिक लस एन्जलस कोलोसियम र अत्याधुनिक सोफी स्टेडियममा संयुक्त रूपमा हुनेछ । यससँगै कोलोसियम तीन ओलम्पिक खेलहरू आयोजना गर्ने पहिलो स्थल बन्नेछ । 

समापन समारोह जुलाई ३० मा कोलोसियममै आयोजना हुनेछ । प्यारालिम्पिकको उद्घाटन समारोह अगस्ट १५ मा सोफी स्टेडियममा हुनेछ । अगस्ट २७ मा प्यारालिम्पिक समापन समारोह कोलोसियममा नै हुनेछ ।

सोफी स्टेडियम एन्एफएल क्लब र्याम्स र चार्जर्सको होम ग्राउण्ड हो भने कोलोसियम, युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाको ट्रोजन्स फुटबल टिमको घरेलु मैदान हो । यसअघि लस एन्जलसले १९३२ र १९८४ मा ओलम्पिक आयोजना गरिसकेको थियो । तर यो शहरमा प्यारालिम्पिक भने पहिलो पटक आयोजना हुँदैछ ।

एलए २०२८ आयोजक समितिका अध्यक्ष केसी वासरम्यानले उद्घाटन तथा समापन समारोहले लस एन्जलसको खेलकुद इतिहास र भविष्यलाई उजागर गर्ने बताए ।

पेरिस ओलम्पिकमा सेन नदीमा भएको उद्घाटन समारोहले निकै प्रशंसा पाएको थियो भने समापनमा टम क्रुजले स्टेड फ्रान्सको छानाबाट झरेर झण्डा लस एन्जलस पुर्‍याएका थिए ।