म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश

वैशाख २६, २०८२ |खेल ब्युरो
म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश

काठमाडौं । इंग्लिस प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस टोली एथ्लेटिक बिलबाओमाथि ४-१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले फाइनलमा स्थान सुरक्षित गरेको हो । 

युनाइटेडले समग्रमा ७-१ को जित हात पार्यो । प्रिमियर लिगको तालिकामा १५औं स्थानमा रहेको युनाइटेडले पहिलो लेगमा बिलबाओलाई उसकै घरेलु मैदानमा ३-० पराजित गरेको थियो । 

दोस्रो लेगमा युनाइटेडलाई जित दिलाउन म्यासन माउन्टले दुई गोल गरे । बिलबाओले सुरूवाती अग्रता बनाएपनि युनाइटेडले सानदार पुनरागमन गर्यो । खेलको ३१औं मिनेटमा हृयारी म्याग्वायरको कमजोर क्लियरका कारण बिलबाओका मिकेल जाउरेगिजारले गोल गर्ने अवसर पाए । उनले बक्स बाहिरबाट उत्कृष्ट फिनिस गरेपछि भ्रमण टोलीले सुरूवाती अग्रता बनाएको थियो ।

७२औं मिनेटमा लेनी योरोको पासमा माउन्टले बराबरी गोल गरे । ७९औं मिनेटमा कासेमिरोले फ्रिकिकमा हेडरमार्फत् गोल गरेपछि युनाइटेडले समग्र अग्रतालाई बलियो बनायो । 

८५औं मिनेटमा आमाद डियालोको कटब्याक पासमा रास्मुस होइल्युनले सजिलै गोल गरे । इन्जुरी समयमा बिलबाओका गोलरक्षक अगिरेजबाला पोस्ट बाहिर आएको देखेपछि माउन्टले हाफ लाइन नजिकैबाट गरेको प्रहारले जाली चुम्यो । योसँगै युनाइटेडले सम्रगमा ७-१ को जित हात पार्दै फाइनलमा स्थान बनायो ।

सन् २०१७ को युरोपा लिग विजेता युनाइटेड अब मे २१ मा बिलबाओकै सान ममेस स्टेडियममा टोटनहमविरुद्ध फाइनल खेल्नेछ।