
काठमाडौं । भारत र पाकिस्तानबीचको द्वन्द्वको असर इन्डियन प्रिमियर लिग-आईपीएलमा पनि परेको छ। आइपीएलअन्तर्गत पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द गरिएको छ ।
गए राति सुरक्षा कारण देखाउँदै धर्मशालास्थित एचपीसीए मैदानमा चलिरहेको खेल बीचमै रोकिएको थियो । त्यसपछि पनि सुरू हुन नसक्दा खेल तत्कालका लागि रद्द गरिएको हो । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले सामाजिक सञ्जालमार्फत् यसबारे पुष्टि गरेको हो ।
खेलाडी र स्पोर्ट स्टाफलाई विशेष रेलमार्फत् धर्मशालाबाट सुरक्षित स्थानमा लगिने छ । विशेष रेल आज पठानकोटबाट छुट्नेछ । बीसीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आईपीएलअन्तर्गत गए रातिको स्थगित खेल र बाँकी प्रतियोगिता जारी राख्ने वा नराख्नेबारे आज निर्णय गरिने छ ।
पाकिस्तानको आक्रमणपछि मैदानको सबै फ्लडलाइट बन्द गरिएको थियो भने सबै दर्शकलाई बाहिर निकालिएको थियो । मैदानबाट बाहिरिंदै गर्दा दर्शकहरूले पाकिस्तान विरोधी नारासमेत लगाएका थिए ।
यसैबीच बीसीसीआईले बाँकी आईपीएल खेलहरूबारे निर्णय लिनका लागि आईपीएल आयोजक समितिसँग अनलाईनमार्फत् आपतकालीन बैठक बोलाएको थियो । प्राप्त जानकारीअनुसार आईपीएल जारी रहने वा नरहने विषयमा आज निर्णय गरिनेछ । गएरातिकाे खेल रोकिँदासम्म पञ्जाबले १० ओभर १ बलमा एक विकेटको क्षतिमा १ सय २२ रन बनाइसकेको थियो ।
प्रभसिमरन सिंह ५० रनमा अविजित थिए भने श्रेयस अय्यर भर्खर क्रिजमा आएका थिए । प्रियांश आर्या ७० रन बनाएर आउट भएका थिए । उनलाई टी नटराजनले माधव तिवारीको हातबाट क्याच गराएका थिए । खेल रद्द गरिएपनि हाल सम्म आईपीएलले आधिकारिक रूपमा दुई टोलीबीच अंक बाडेको छैन । बीसीसीआई र आईपीएल आयोजक समितिको आजको बैठक पछि मात्र यो र बाँकी अन्य खेलबारे निर्णय लिइनेछ ।