धनकुटा । धनकुटाको राजारानीमा जिल्लाकै प्रतिष्ठित रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ७ लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता रारा फुटबल क्लब चैविसेले आयोजना गर्न लागेको हो ।
वैशाख २९ गतेबाट जेठ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछ्न् । स्थानीय पुण्य माविको खेल मैदानमा हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सहलेस फुटबल क्लब सिरहा, चर्च ब्वाइज युनाइटेड, बागमती युथ क्लब सर्लाही, गोल्डेन स्टार सुनसरी, एलएक्स सिटी मोरङ, बिर्तामोड युनाइटेड र डाँडाबजार फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजयी टिमले ७ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, उपविजेता टिमले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछ ।
यसैगरि, प्रत्येक खेलमा विधागत र म्यान अफ दी म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि ४२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।