बार्सिलोनालाई हराउँदै इन्टर च्याम्पियन्स लिगको फाइनलमा

वैशाख २४, २०८२ |खेल ब्युरो
बार्सिलोनालाई हराउँदै इन्टर च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । डेभिडे फ्रात्तेसीले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि इन्टर मिलान युएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति सान सिरोमा सम्पन्न दोस्रो लेगमा इटालियन टोली इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई ४-३ ले पराजित गरेको हो ।

यस जितसँगै इन्टरले समग्रमा ७-६ गोल अन्तरको जित हात पार्दै फाइनलमा स्थान बनाएको हो । दुई टोलीबिचको पहिलो लेगको खेल ३-३ गोलको बराबरीमा सकिएको थियो ।

यो खेल च्याम्पियन्स लिग इतिहासको सबैभन्दा बढी गोल भएका सेमिफाइनल मध्ये एक हो । यस अघि २०१७-१८ मा लिभरपुलले रोमालाई ७-६ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

पहिलो लेगजस्तै इन्टरले दोस्रो खेलमा पनि सुरूवाती अग्रता बनायो । खेलको २१औं मिनेटमा डानी ओल्मोले मिडफिल्डमा बल गुमाउँदा डेनजेल डुम्फिजले राइट फ्ल्याङबाट लटारो मार्टिनेजका लागि बल मिलाए । 

मार्टिनेजले पहिलो टचमै बललाई पोस्टको दिशा दिए । बार्सिलोना पहिलो हाफमा कमजोर देखियो । इन्टरका मखितार्यान र चाल्हानोग्लुको प्रहार पोस्ट बाहिर गयो ।

पहिलो हाफको अन्त्यमा पाउ कुवार्सीले बक्सभित्र लटारोलाई ट्याकल गर्दा सुरुमा राम्रो ट्याकल देखिएपनि भिएआर समिक्षापछि रेफ्रीले पेनाल्टी दिए । पनाल्टीलाई चाल्हानोग्लुले सहजै गोलमा परिणत गरेपछि मध्यान्तरसम्म इन्टरले २-० को अग्रता बनायो । 

दोस्रो हाफको सुरूवातमै चाल्हानोग्लुको फ्रिकिकमा फ्रान्चेस्को आचेरबीले गोल गरेजस्तो देखिएपनि अफसाइडका कारण रद्द गरियो ।

५४औं मिनेटमा बार्सिलोनाले पहिलो गोल फर्कायो । जेरार्ड मार्टिनले दोस्रो प्रयासमा एरिक गार्सियालाई क्रस दिए । जसले वान टचमै उत्कृष्ट प्रहार गर्दै गोल गरे ।

६०औं मिनेटमा बार्सिलोना बराबरीमा फर्कियो । मार्टिनको पासमा दानी ओल्मोले हेड गर्दै गोल गरे । ७७औं मिनेटमा लमिन यामालको कर्लिङ शट सोमरले शानदार बचाउ गरे । 

८७औं मिनेटमा राफिन्हाले रिबाउन्डमा गोल गरेपछि बार्सिलोनाले पहिलोपटक अग्रता लियो । यन्जुरी समयको तेस्रो मिनेटमा यामालको प्रहार पोस्टमा लाग्यो । काउन्टरमा इन्टरले तीव्र आक्रमण गर्दा डुम्फिजको क्रसमा आचेरबीले गोल गरे । 

एक्स्ट्रा टाइममा इन्टरले अझ आत्मविश्वासका साथ खेल्यो । ९९औं मिनेटमा फ्रात्तेसीले लो शट गर्दै निर्णायक गोल गरे । यामालले अन्तिम क्षणसम्म बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेनन् । 

सोमरले फेरि दुई उत्कृष्ट बचाउ गर्दै इन्टरको जित सुनिश्चित गरेका हुन् । इन्टरले अव उपाधिका लागि आज पीएसजी र आर्सनलको विजेतासँग खेल्ने छ ।