काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सको ६ खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ ।
गएराति वर्षाका कारण पटक-पटक प्रभावित खेलमा डीएलएस पद्दतीमा मुम्बईलाई ३ विकेटले हराउँदै गुजरात लिगको शीर्षस्थानमा उक्लिएको छ ।
वानखेडे स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको घरेलु टोली मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार पारेको थियो । दोस्रो इनिङ्समा पटक पटक वर्षाले खेल प्रभावित हुँदा डीएलएस पद्दती अनुसार जुगरातले १९ ओभरमा १ सय ४७ रनको लक्ष्य पाएको थियो ।
खराब सुरूवात गरेको मुम्बईका ओपनर रायन रिकेल्टन २ र रोहित शर्मा ७ रनमा आउट भए । विल ज्याक्स र सूर्य कुमार यादवले तेस्रो विकेटको लागि ७१ रनको साझेदारी गरे । सूर्य कुमार ३५ रनमा आउट भए । विलले सर्वाधिक ५३ रनको योगदान दिए । कोर्बिन बोच २७ रनमा आउट भए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । गुजरातका लागि साही किशोरले २ विकेट लिए ।
वर्षाका कारण गुजरातले १९ ओभरमा १ सय ४७ रनको लक्ष्य पाएकोमा उक्त लक्ष्य ७ विकेट गुमाउँदै अन्तिमबलमा पुरा गर्यो । गुजरातका लागि साही सुदर्शनले ५ रन मात्र जोड्न सके ।
कप्तान शुभमन गिलले सर्वाधिक ४३ रनको योगदान दिए । जस बटलरले ३० रन बनाए । दोस्रो विकेटका लागि गिल र बटलरबीच ७२ रनको साझेदारी भएको थियो । शेर्फान रदरर्फडले २८ रनको योगदान दिए ।
तेस्रो पटक वर्षापछि खेल सुरू हुँदा गुजरातलाई १ ओभरमा १५ रन आवश्यक थियो । दीपक चहरको सुरुवाती २ बलमा जेराल्ड कोएत्जीले क्रमस चौका र छक्का प्रहार गरेपछि गुजरात सहज अवस्थामा पुगेको थियो ।
अन्तिम २ बलमा १ रन चाहिएको अवस्थामा कोएत्जी १२ रनमा आउट भए । अन्तिम बलमा १ रन चाहिएको अवस्थामा अर्सद खानलाई रनआउट गर्न नसक्दा मुम्बई पराजित भयो । मुम्बईका लागि जस्प्रीत बुमराह, ट्रेन्ट बोल्ट र अश्वनी कुमारले २-२ विकेट लिए ।
जितसँगै गुजरात ११ खेलमा ८ जितसहित १६ अंक जोडेर लिगको शीर्षस्थानमा उक्लेको छ । चौथो स्थानको मुम्बईको १२ खेलमा १४ अंक छ ।