यस वर्षको क्लब विश्वकपमा मेक्सिकन क्लब लियोनले भाग लिन नपाउने

वैशाख २४, २०८२ |खेल ब्युरो
यस वर्षको क्लब विश्वकपमा मेक्सिकन क्लब लियोनले भाग लिन नपाउने

काठमाडौं । मेक्सिकोको क्लब लियोनले यसै वर्षको क्लब विश्वकपमा भाग लिन नपाउने भएको छ । फिफाको स्वामित्वसम्बन्धी नियम उल्लंघन गरेको आरोपविरूद्ध गरेको अपील अस्वीकृत भएपछि उनीहरूको सहभागिता अन्तिम समयमा रद्द भएको हो ।

क्लब लियोन सन् २०२३ को कन्काकाफ च्याम्पियन्स कप जितेर छनोट पाएको थियो । तर कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्ट कासले उनीहरूको अपील खारेज गरेको हो ।

क्लब लियोनले एक वक्तव्य जारी गर्दै यसलाई क्लबमाथि गरिएको सबैभन्दा ठूलो अन्याय भएको बताएको छ । क्लबले अबको लक्ष्य फेरि जितेर मैदानमै आफ्नो स्थान फिर्ता ल्याउनु रहेको बताएको छ ।

यस वर्षको क्लब विश्वकप जुन १४ देखि जुलाई १३ सम्म अमेरिकामा आयोजना हुँदैछ । जसमा ३२ टोली सहभागी हुनेछन् र १ बिलियन अमेरिकी डलरको पुरस्कार राशि तोकिएको छ । 

प्रतियोगितामा विभिन्न महादेशीय च्याम्पियन क्लबहरूका साथै चार वर्षको प्रदर्शनको आधारमा उत्कृष्ट टोलीहरू समावेश गरिएका छन् ।