सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

असार २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । संघ र प्रदेश सरकारलाई दिएको समर्थन आज औपचारिक रुपमा फिर्ता लिने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कान्तिपुर समाचारलाई बताउनुभयो ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।

गठबन्धनमै रहे पनि आफुसँग छलफल नै नगरी सुदूरपश्चिममा आफ्नो पार्टीका मन्त्रीलाई बर्खास्त गरिएको घट्नाले सरकारमा रहिरहनुको औचित्य समाप्त भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । पार्टीका संरक्षक रेशम चौधरीले पनि बिहीबारै सरकारबाट समर्थन फिर्ता लिने बताउनुभएको थियो ।

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि संघ र प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था भने छैन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.