काठमाडौं । आईपीएलमा अब लिग चरणमा १५ खेल मात्र बाँकी छन् । हाल सात टोली प्लेअफको दौडमा छन् भने चेन्नई, हैदराबाद र राजस्थान बाहिरिइसकेका छन् । अहिलेसम्म कुनै पनि टोलीले प्लेअफमा स्थान सुरक्षित गर्न नसक्दा शीर्ष चारको होड थप रोमाञ्चक बन्ने निश्चित छ । आज हामी प्लेअफमा पुग्न कुन टिमका लागि के आवश्यक छ भन्ने विषयमा चर्चा गर्नेछौं ।
सुरुमा कुरा गरौं तालिकाको शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) को । आरसीबी ११ खेलमा १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । लिगमा ३ खेल खेल्न बाँकी रहँदा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीचको खेल वर्षाका कारण रद्द भएपछि अब आरसीबीलाई प्लेअफमा स्थान पक्का गर्न मात्र एक जितको खाँचो छ । यदि बाँकी खेल पनि वर्षाका कारण रद्द भए पाँच टोली १८ अंकमा पुग्न सक्छन् । तर जितको संख्याका आधारमा आरसीबी अगाडि हुनेछ ।
अन्य टोलीका नतिजाहरू अनुकूल भए आरसीबी १६ अंकमै पनि प्लेअफमा पुग्न सक्छ । तर ३ टिमले २० वा योभन्दा बढी अंकसहित लिग चरण समाप्त गर्न सक्ने अवस्था हुँदा दुई जितले पनि उसको शीर्ष दुईमा स्थान ग्यारेन्टी हुनेछ ।
पञ्जाब किंग्स ११ खेलमा १५ अंकसहित दोस्रो स्थानमा छ । लिगमा ३ खेल खेल्न बाँकी रहँदा पञ्जाबलाई अरू कसैको भर नपरी प्लेअफ पक्का गर्न कम्तीमा दुई जित चाहिन्छ । यसले पञ्जाबलाई १९ अंकसम्म पुर्याउने छ । अन्य टिमको नतिजाले साथ दिए ऊ १५ अंकमै पनि लक्ष्यमा पुग्न सक्छ । यदि बाँकी तीनै खेल जिते पञ्जाबले शीर्ष दुईमा स्थान बनाउने छ ।
११ खेलमा १४ अंक जोडेको मुम्बई इन्डियन्सले पनि लिगमा ३ खेल खेल्न बाँकी छ । लगातार ६ जितसहित मुम्बई हाल सबैभन्दा लयमा रहेको टोली हो । तीमध्ये चार जित ५० रनभन्दा धेरै अन्तरले वा २५ बल बाँकी रहँदा जितेको मुम्बईको नेट रन रेट सबैभन्दा राम्रो छ । दुई जितले उसलाई प्लेअफमा पुर्याउनेछ । जबकि २० अंकमा पुग्न सकेमा शीर्ष दुईमा पर्ने सम्भावना बलियो हुनेछ । १६ अंकमा पुग्नका लागि भने अन्य परिणाम अनुकूल हुनुपर्नेछ ।
तालिकाको चौथो स्थानमा रहेको गुजरात टाइटन्सले अन्य टिमभन्दा एक खेल कम खेलेको छ । १० खेलमा १४ अंक जोडेको गुजरातको रन रेट मुम्बईपछि दोस्रो राम्रो छ । दुई जितले गुजरातको प्लेअफमा स्थान पक्का हुने छ । बाँकी चार खेल हारे मात्र गुजरातको प्लेअफ सम्भावना समाप्त हुनेछ । चारै खेल जिते गुजरातले क्वालिफयर्समा स्थान बनाउने छ ।
दिल्ली क्यापिटल्सले ११ खेलमा १३ अंक जोडेको छ । हैदराबादसँगको खेल वर्षाले रद्द भएपछि दिल्लीले महत्त्वपूर्ण १ अंक जोडेको छ । १५ अंकले पनि दिल्लीलाई शीर्ष चारमा पुर्याउन सक्छ । तर त्यसका लागि धेरै अन्य खेलका नतिजा अनुकूल हुनुपर्छ । १७ अंकमै पनि उसको भविष्य अन्य खेलको नतिजामा भर पर्नेछ । बाँकी तीनै खेल जितेमा मात्र सुरक्षित रूपमा प्लेअफमा पुग्नेछ, तर हालको लयमा त्यो चुनौतीपूर्ण देखिन्छ ।
११ मा ११ अंक जोडेको कोलकाता नाइट राइडर्स १५ अंकमा पुगे पनि सम्भावना निकै न्यून रहनेछ । यद्यपि अन्य नतिजाहरू अनुकूल भएमा सम्भावना रहन्छ । उसलाई १७ अंक आवश्यक छ, तर त्यसले पनि प्लेअफ सुनिश्चित नहुन सक्छ । कोलकातालाई प्लेअफमा पुग्न बाँकी ३ वटै खेलमा राम्रो रन रेटमा जित हात पार्नु पर्ने छ र अन्य टिमको नतिजामा भर पर्नु पर्ने छ ।
लखनऊ सुपर जायन्ट्सले ११ खेलमा १० अंक जोडेको छ । लखनऊ कमजोर लयमा छ । टिमले पछिल्ला पाँचमध्ये चार खेलमा हारको सामना गरेको छ । अब उसलाई प्लेअफमा पुग्न बाँकी सबै खेल जितेर १६ अंकमा पुग्नु पर्ने छ । साथै अन्य टिमको खराब प्रदर्शनको आशा गर्नु पर्नेछ । एक हारले उसलाई प्रतियोगिताबाट बाहिर पुर्याउनेछ । खराब रन रेटका कारण पनि उसको अवस्था झनै जटिल बनेको छ ।