स्नुकरको विश्व च्याम्पियनसिप जित्ने पहिलो चिनियाँ खेलाडी बने झाओ जिन्तोङ्ग

वैशाख २३, २०८२ |खेल ब्युरो
स्नुकरको विश्व च्याम्पियनसिप जित्ने पहिलो चिनियाँ खेलाडी बने झाओ जिन्तोङ्ग

काठमाडौं । झाओ जिन्तोङ्ग स्नुकरको विश्व च्याम्पियनसिप जित्ने पहिलो चिनियाँ खेलाडी बनेका छन ।

फाइनल खेलमा झाओले वेल्सका तीन पटकका च्याम्पियन मार्क विलियम्सलाई १८-१२ ले पराजित गरेका हुन् । 

क्रुसिबल थिएटरमा ऐतिहासिक जितसँगै २८ वर्षिय झाओले सानदार पुनरागमन गरेका छन । सन् २०२३ मा म्याच फिक्सिङ प्रकरणमा २० महिनाको प्रतिबन्ध लागेपछि झाओले यो प्रतियोगितामा 'एमेच्योर' खेलाडीको हैसियतमा सहभागिता जनाएका थिए । 

उनलाई मुख्य प्रतियोगितामा पुग्न चार चरणको छनोट खेल्नुपरेको थियो । उनी टेरी ग्रिफिथ्स र शान मर्फीपछि क्वालिफायर भएर उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन ।

झाओले पहिलो दिन ११-६ को अग्रता लिएका थिए। दोस्रो दिन पनि उनले शान्त र आत्मविश्वासी प्रदर्शन जारी राख्दै स्कोर १७-८ पुर्‍याए । अन्तिम फ्रेम जित्न उनलाई केवल एक अंक आवश्यक थियो । 

५० वर्षिय विलियम्सले रातको खेलमा चार फ्रेम जित्दै रोमाञ्चकता थपे पनि झाओले पाँचौ फ्रेम जित्दै उपाधि सुनिश्चित गरे । यससँगै उनले ५ लाख पाउन्ड पुरस्कार जिते । यस अघि झाओले सेमिफाइनलमा सात पटकका च्याम्पियन रोननी ओ'सलिभानलाई हराएका थिए ।