काठमाडौं । साविक उपविजेता सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग-आईपीएलको प्लेअफ दौडबाट बाहिरिएको छ । गएराति दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाका कारण रद्द भएपछि हैदरबादको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो ।
दिल्लीले पहिलो इनिङ्समा २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रन बानाएको थियो । वर्षाका कारण हैदराबादले इनिङ्स सुरूवात नै गर्न पाएन ।
राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोजेपछि दिल्लीले पहिले ब्याटिङ गरेको थियो ।
खराब सुरूवात गरेको दिल्लीले पावर प्लेको सकिँदा २६ जोडेर ४ विकेट गुमाइसकेको थियो । २९ रनमा ५ विकेट गुमाइ सकेको दिल्लीका लागी करूण नायरले खाता खोल्न सकेनन् ।
फाप डु प्लेसिस ३ र अभिषेक पोरेल८ रनमा आउट भए । दिल्लीका सुरूवाती ३ ब्याटर कप्तान प्याट कमिन्सको सिकार भएका थिए । कप्तान अक्षर पटेल ६, के एल राहुल १० र विपराज निगम १८ रनमा पबिलियन फर्किए । आशुतोष शर्माले ४१ रनको योगदान दिए । ट्रिस्टान स्टब्सले अविजित ४१ रन बनाए । हैदरबादका लागी कमिन्सले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए ।
हैदराबादले जितका लागि १ सय ३४ रनको सहज लक्ष्य पाएपनि वर्षाका कारण दोस्रो इनिङ सुरू हुन नसक्दा दुवैले एक-एक अंक बाँडे । अंक बाडेसँगै हैदराबाद प्लेअफ दौडबाट बाहिरियो । यससँगै हैदराबाद आईपीएलको प्लेअफ दौडबाट बाहिरिने तेस्रो टोली बनेको छ । यस अघि चेन्नई र राजस्तान पनि बाहिरिसकेका थिए ।
यस नतिजासँगै दिल्ली ११ खेलमा ६ जितसहित १३ अंक जोडेर तालिकाको पाँचौं स्थानमा यथावत छ । समान खेलमा ७ अंक जोडेको हैदराबाद आठौं स्थानमा छ ।