काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दै छन् । हैदराबादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा खेल राति पौने ८ बजेबाट सुरु हुनेछ ।
जारी सिजन यी दुई टिमबीचको यो दोस्रो भिडन्त हो । पहिलो खेलमा दिल्लीले हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो ।
अक्षर पटेलको कप्तानीमा रहेको दिल्ली क्यापिटल्स यो खेल जितेर शीर्ष-५ मा टिक्न चाहन्छ । राम्रो रनरेटका साथ जितेमा दिल्ली शीर्ष ४ मा पुग्ने सम्भावना पनि छ । दिल्लीले अहिलेसम्म १० खेलमा ६ जित हात पारेको छ र उसको १२ अंक छ ।
प्याट कमिन्सको नेतृत्वमा रहेको हैदराबाद लगभग प्रतियोगिताबाट बाहिर भइसकेको छ । यदि टोली आजको खेलमा पराजित भए ऊ प्लेअफ दौडबाट पूर्ण रूपमा बाहिरिनेछ । हैदराबादले १० खेलमा मात्र ३ जित दर्ता गरेको छ र उसँग ६ अंक मात्र छ । हैदराबाद तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।
दुवै टिमबीच आईपीएलमा अहिलेसम्म २५ पटक भेट भएको छ । जसमा हैदराबादले १३ र दिल्लीले १२ खेल जितेका छन् । यो मैदानमा यी टिमहरू ६ पटक आमनेसामने भएका छन् र दुवैले ३/३ खेल जितेका छन् । खराब लयमा रहेको हैदराबादका ओपनर अभिषेक शर्माले १० खेलमा ३ सयभन्दा बढी रन बनाएका छन् । दोस्रो स्थानमा रहेका हेनरिक क्लासनले १० खेलमा ३ सय ११ रन बनाएका छन् । ट्राभिस हेडले मध्यम प्रदर्शन गर्दा इसान किसनको ब्याटबाट रन बन्न सकेको छैन । बलिङतर्फ हर्षल पटेलले राम्रो प्रदर्शन गर्दै ९ खेलमा १३ विकेट लिएका छन् ।
दिल्लीका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी केएल राहुल हुन् । उनले ९ खेलमा ३ सय ७१ रन बनाएका छन् । जसमा तीन अर्धशतक सामेल छन् । अभिषेक पोरेलले १० खेलमा २ सय ५७ रन बनाएका छन् । बलिङमा मिचेल स्टार्क १४ विकेटसहित दिल्लीका अग्रणी बलर बनेका छन् ।
राजीव गान्धी इन्टरनेशनल स्टेडियमको पिच ब्याटर अनुकुल मानिन्छ । यहाँ हालसम्म ८२ आईपीएल खेल भएका छन् । जसमा ३५ खेल पहिले ब्याट गर्ने टोलीले र ४७ खेल चेज गर्ने टोलीले जितेका छन् ।