यत्तिले पुगेन, अपराध अनुसन्धानको दायरा नयाँ किसिमले अघि बढाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
यत्तिले पुगेन, अपराध अनुसन्धानको दायरा नयाँ किसिमले अघि बढाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ आयामहरू थपिएको भन्दै नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा विस्तार गर्न निर्देशन दिनुभएको छ ।

आइतबार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अपराध अनुसन्धानको दायरा विस्तार गर्न निर्देशन दिनुभएको हो ।

उहाँले नेपाल प्रहरीले अहिले गरिरहेको अपराध अनुसन्धानले मात्रै नपुग्ने भन्दै अझै अनुसन्धानको दायरालाई फराकिलो बनाइ शान्ति सुरक्षा कायम गर्नुपर्ने बताउनु भयो ।

उहाँले २५-३० वर्ष पहिलाको भन्दा अहिले धेरै राम्रो रहेको भएपनि पछिल्ला समयमा आएका नयाँ अपराधका आयामहरूका अनुसार अनुसन्धानमा पनि नयाँ प्रविधिको माध्यमबाट पहुँच बढाउनुपर्ने बताउनु भयो । नेपाल प्रहरी कानून कार्यान्वयनको महत्वपूर्ण माध्यम भएकाले समयानुसार अघि बढ्न सक्नुपर्ने उहाँको भनाइ छ ।

गृहमन्त्री लेखकले सुरक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न थप परिस्कृत बन्नुपर्ने जरूरी रहेको जिकिर गर्नुभयो ।

समाजमा दिन प्रतिदिन रूपान्तरण भइरहेको र प्रगतितर्फ अघि बढिरहेको भएपनि त्यसमा अपराधिक क्रियाकलापको संख्या पनि बढ्दै गएको उहाँकाे भनाइ छ । अवसर र सम्भावनासँगै चुनौति, जोखिम उत्तिकै रहेको गृहमन्त्री लेखकको भनाइ छ । त्यसलाई नियन्त्रण गर्न नयाँ तौर तरिकाहरू सिक्न जरूरी रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री लेखकले पछिल्लो समयको परिवर्तनबाट उत्पन्न हुने चुनौतिलाई ठिक ढंगले सम्बोधन गर्न नेपाल प्रहरी स्टाफ कोर्स लगायतका कोर्सहरूको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । 

आजबाट नेपाल प्रहरीमा पहिलो पटक लिडरसीप एण्ड स्टाफ कोर्स सुरू भएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.