काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यससँगै समूह 'ए' बाट सेमिफाइनल पुग्ने दुबै टोलीको टुंगो लागेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशविरुद्ध ५ सेटको कठिन जित हात पारेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो सेट १९-२५ ले गुमाएको एपीएफले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै, तेस्रो सेटमा २३-२५ ले नजिता सुम्पिएको एपीएफले चौथो र पाँचौं सेटमा पुनरागमन जित हात पारेको हो ।
३ अंकले पछि परेको अवस्थामा एपीएफले चौथो सेटमा लगातार १२ अंक लिँदै २५-१४ ले आफ्नो पक्षमा पार्यो । पाँचौं तथा निर्णायक सेटमा सुरूआतबाटै अग्रता बनाएको एपीएफले १५-११ ले जित दर्ता गर्दै अन्तिम चारको यात्रा तय गर्यो ।
हारसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै समूह 'ए' बाट इरानी टोली विजेता र एपीएफ उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन ।