काठमाडौं । तेस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले अघिल्लो दुई संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गरेको हो ।
आर्मीले टस जितेर फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो ।
पुलिसका लागि रूण ऐरीले सर्वाधिक ६४ रन बनाए । कप्तान शंकर रानाले ५१ रनको अर्धशतकीय योगदान दिए । ७७ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ विकेटको रूपमा अरूण ऐरी र शंकर रानाले ९६ रनको साझेदारी गरेका थिए ।
दिपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रन बनाए । आर्मीकाका लागी दुर्गेश गुप्ता, नरेन साउद र तुलबहादुर थापाले समान २-२ विकेट लिए ।
जवाफमा २ सय ४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन मात्र बनाउन सक्यो । आर्मीका लागी हिमांशु दत्ताले ६३ रनको अर्धशतकीय योगदान दिए । निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४ तथा नरेन साउदले २१ रन बनाए ।
पुलिसका लागी श्रवन यादवले सर्वाधिक ४ विकेट लिए । चित्र विष्टको नाममा २ विकेट रह्यो । च्याम्पियन बनेसँगै पुलिसले ४ लाख नगदसहित ट्रफी हात पार्यो। आर्मीले २ लाख रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताको उत्कृस्ट खेलाडी त्रिभुवन आर्मी क्लबका नरेन साउद घोषित भए । उनले २५ हजार रूपैयाँ पाए ।