काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले आयोजना गरेको कोर क्याम्पमा नेपाल रातोले नेपाल हरियोविरुद्ध ६ विकेटको जित हात पारेको छ । जारी क्याम्पमा नेपाल रातोको चौथो जित हो । हरियोले भने जितको खाता खोल्न सकेको छैन ।
मुलपानीको माथिल्लो मैदानमा रातोले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको हरियोले निर्धारित ३६ ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । खराव आउट फिल्डका कारण ५० ओभरको खेल ३६ ओभरमा घटाइएको थियो ।
हरियोका लागि अभिषेश तिवारीले १५, पवन सर्राफले ३४ र दीलिप नाथले २२ रनको योगदान दिए । सोमपाल कामी १८ रनमा आउट भए । राशिद खानले सर्वाधिक ४३ रनको अविजित इनिङ्स खेले । रातोका लागि आकाश चन्दले ३ तथा प्रतिश जिसी र सहाव आलमले समान २-२ विकेट हात पारे ।
जवाफमा १ सय ६७ रनको लक्ष्य रातोले २८ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । रातोका लागि ओपनर तृतराज दाशले ६१ रनको अर्धशतकीय योगदान दिए । शुभ कंशकारले सर्वाधिक ६६ रन जोडे । भीम सार्की १२ रनमा आउट हुँदा बसिर अहमद १४ रनमा नटआउट रहे । हरियोका लागि सेर मल्लले २ विकेट हात पारे ।
यससँगै ५ खेलमा ४ जितसहित ८ अंक जोडेको रातो शीर्ष स्थानमा यथावत छ । समान खेलमा जितविहीन हरियो पुछारमा छ ।