राष्ट्रिय क्रिकेट टिमको कोर क्याम्पअन्तर्गत दोस्रो चरणमा २५ खेलाडी छनोट

वैशाख २०, २०८२ |खेल ब्युरो
राष्ट्रिय क्रिकेट टिमको कोर क्याम्पअन्तर्गत दोस्रो चरणमा २५ खेलाडी छनोट

काठमाडौं । आगामी जुनमा स्कटल्यान्डमा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको कोर क्याम्प अन्तर्गत दोस्रो चरणमा २५ खेलाडी छनोट भएका छन ।

नेपाल क्रिकेट संघ क्यानले ५२ खेलाडीबाट दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको हो। मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका छन ।

प्रशिक्षक स्टुअर्ट लको टोलीमा कुशल मल्लले स्थान बनाउन सकेनन । पछिल्लो समय कुशल खराव फर्मबाट गुज्रिरहेका थिए । रोहित पौडेलको कप्तानीमा दोस्रो चरणमा धेरै युवा खेलाडीले स्थान बनाएका छन भने केही खेलाडीले पुनरागमन गरेका छन ।

कोर क्याम्पपछि क्यानले नेपालको अन्तिम टोली घोषणा गर्नेछ । सो टोलीले १४ देखि २६ मेसम्म बेलायत भ्रमण गर्नेछ । भ्रमणका क्रममा नेपाली टोलीले एमसीसी लगायतका अन्य स्थानीय टोलीसँग एकदिवसीय अभ्यास खेल खेल्ने छ । 

नेपाली टिम २९ र ३१ मे मा स्कटल्यान्ड 'ए' टोली विरुद्ध दुई एकदिवसीय खेलहरू हुने छन । त्यसदैरान नेपालले उच्चस्तरीय ट्रेनिङ क्याम्पमा सहभागिता जनाउनेछ । त्यसपछि नेपालले लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्ड र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।