कास्की । पोखरामा जारी लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोली र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका छन् ।
प्रतियोगिताको समूह 'ए' अन्तर्गत हिजो भएको पहिलो खेलमा इरानी टोलीले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको इरानी टोली दोस्रो सेटमा पछि परेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट एपीएफले ३१-२९ ले आफ्नो पक्षमा पार्यो । २९-२९ को अवस्थामा रहेको सेटमा पीएफले लगातार २ अंक जोड्दै खेल १-१ सेटको बराबरी अवस्थामा पुर्याएको थियो ।
इरानी टोलीले तेस्रो सेट २५-२३ र चौथो सेट २५-१९ ले जित्दै नतिजा आफ्नो पक्षमा पार्यो ।
समूह 'बी' अन्तर्गत आजै भएको दोस्रो खेलमा भारतीय टोलीविरुद्ध नेपाल पुलिस क्लबले सोझो सेटमा जित हात पार्यो । पुलिसले तीन वटै सेट क्रमशः २५-२३, २५-१६ र २५-२० ले जितेको हो ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् भने समूह 'बी' मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । फाइनल वैशाख २२ गते हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४ सय ४४ पाउनेछ ।