आईपीएल २०२५ : आज चेन्नई र पञ्जाबबीच प्रतिस्पर्धा हुँदै

वैशाख १७, २०८२ |खेल ब्युरो
आईपीएल २०२५ : आज चेन्नई र पञ्जाबबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ को ४९औं खेलमा आज चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स प्रतिस्पर्धा गर्दैछन । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम रंगशालामा खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरू हुनेछ । यो सिजन यी दुई टिम दोस्रो पटक आमनेसामने हुन लागेका हुन् ।

प्लेअफमा स्थान बनाउन चेन्नई जित्नै पर्ने दबाब छ । ९ खेलमा मात्र २ जित हात पार्दै चेन्नई अंक तालिकाको पुछारमा छ । प्लेअफमा पुग्ने आशा जिवित राख्ने चेन्नईले बाँकी पाँचै खेल जित्नैपर्ने हुन्छ । 

पञ्जाबले ९ मध्ये ५ खेल जितेको छ र १ खेल वर्षाका कारण रद्द भएको थियो । श्रेयस अय्यरको कप्तानीमा रहेको पञ्जाब तालिकाको पाँचौं स्थानमा छ । आईपीएलमा यी दुईबीच ३१ खेल भएका छन्, जसमा चेन्नईले १६ र पञ्जाबले १५ जितेको छ । यस सिजन अप्रिल ८ मा खेलिएको दुई टोलीबीचको खेलमा पञ्जाब १८ रनले विजयी भएको थियो ।

खराब लयमा रहेको चेन्नईले ९ खेलमा २१ खेलाडीलाई मैदान उतारिसकेको छ । लिगमा थोरै खेल मात्र बाँकी रहँदा उसले अहिलेसम्म सही कम्बिनेसन बनाउन सकेको छैन । 

शिवम दुबेले चेन्नईका लागि २ सय ४२ रन बनाएका छन् । कप्तान धोनीले १ सय ४० रन जोडेका छन । युवा ओपनर आयुष म्हात्रे र शेख रशीदले पछिल्ला खेलहरूमा राम्रो सुरूआत दिएका छन् । नूर अहमदले १४ खलील अहमदले १२ र मथीश पथिरानाले ७ विकेट लिएका छन ।

पञ्जाबका ओपनर प्रियांश आर्या र प्रभसिमरन सिंह राम्रो र्फममा छन् । प्रियांशले ९ खेलमा ३ सय २३ रन बनाएका छन् भने प्रभसिमरनले २ सय ९२ रन बनाएका छन् । अर्शदीप सिंहले ११ र युजवेन्द्र चहलले ९ विकेट लिएका छन् ।