
काठमाडौं । ६ पटकका च्याम्पियन नोभाक जोकोभिचले यस वर्षको इटालियन ओपनबाट नाम फिर्ता लिएका छन् । २००७ मा पहिलोपटक खेलेयता जोकोभिचले यो प्रतियोगिता पहिलो पटक मिस गर्न लागेका हुन् ।
जोकोभिचले नाम फिर्ता लिएको आयोजकले जनाएको छ । उनको यो निर्णयले फ्रेन्च ओपनको तयारीमा धक्का पुगेको छ ।
जोकोभिच गत सप्ताहान्तमा मड्रिड ओपनको दोस्रो चरणमा इटालियन खेलाडी मातेओ आर्नाल्डीसाग सोझो सेटमा हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएका थिए । ३७ वर्षीय सर्बियन खेलाडीले यो आफ्नो अन्तिम मड्रिड ओपन हुनसक्ने संकेत दिएका थिए ।
यस सिजन क्ले कोर्टमा जितबिहिन बन्दै जोकोभिच रोलान गारोसमा आउँदै छन् । उनी मोन्टे कार्लोमा पनि दोस्रो चरणबाटै बाहिरिएका थिए ।
२४ पटक ग्रान्ड स्लाम जितिसकेका जोकोभिचले पछिल्लो पटक २०२३ को एटीपी फाइनल्समा उपाधि जितेका थिए । सो सिजन उनले चारमध्ये तीनवटा ग्रान्ड स्लाम जितेका थिए । फ्रेन्च ओपन मे २५ देखि सुरू हुनेछ ।