काठमाडौं । १५ वर्षपछि फेरि एक पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना र इन्टर मिलान आमनेसामने हुँदैछन । सेमिफाइनलको पहिलो लेगमा आज बार्सिलोनाले इन्टर मिलानलाई घरेलु मैदानमा स्वागत गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।
सन् २०१० को सेमिफाइनलमा इन्टर मिलान विजयी भएको थियो । तर यसपटक बार्सिलोना इटालियन प्रतिद्वन्द्वीलाई हराउँदै पेरिस सेन्ट जर्मेन पीएसजी वा आर्सनलसँगको फाइनल भिडन्त सुनिश्चित गर्न चाहन्छ । पीएसजीले आर्सनलसँगको पहिलो लेग १-० ले जितिसकेको छ ।
हान्सी फ्लिकको नेतृत्वमा बार्साले युरोपियन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । २०१५ पछि पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा रहेको बार्साले हालसम्म ३ दशमलव १ प्रति खेलका दरले गोल गरिरहेको छ । लिग चरणमा दोस्रो स्थानमा रहेको स्पेनिस टोलीले अन्तिम १६ मा बेन्फिकालाई हराएको थियो भने क्वार्टरफाइनलमा बोरूसिया डर्टमुण्डलाई पछि पारेको थियो ।
हाल ला लिगा तालिकामा बार्सिलोना रियाल मड्रिडभन्दा चार अंकले अगाडि छ । पछिल्लो खेलमा कोपा डेल रेको फाइनलमा रियाललाई पराजित गर्दै च्याम्पियन बनेको टोली उत्कृष्ट लयमा छ ।
रोबर्ट लेवान्डोस्कीले ह्यामस्ट्रिङको चोटका कारण यो लेग गुमाउने सम्भावना छ । आक्रमणमा लामिन यामाल र राफिन्हा उत्कृष्ट लयमा छन ।
इन्टरले यस सिजन उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै आएको छ । ८ क्लीन सिटसहित केवल ५ गोल बेहोरेको छ भने २० च्याम्पियन्स लिग खेलमा मात्र दुई हार व्यहोरेको छ ।
प्रशिक्षक सिमोने इनजाघीले ५० औं खेलमा नेतृत्व गर्न लागेका छन । जहाँ उनले अहिलेसम्म २६ जित निकालेका छन् । जुन कुनै पनि इटालियन प्रशिक्षकभन्दा धेरै हो । तर इन्टर पछिल्ला तीन खेलमा लगातार हार बेहोरेको छ ।
कप्तान लाउटारो मार्टिनेजले पछिल्ला पाँच खेलमा लगातार गोल गरिरहेका छन् । तर, मार्कुस थुरामले चोटका कारण यो खेल गुमाउने सम्भावना छ ।
बार्सिलोनाको घरेलु र्फम र आक्रमण तिव्र देखिएको छ । तर इन्टरको रक्षात्मक दृढता खेलको प्रमुख आकर्षण हुने निश्चित छ । चोटपटक र थकाइ दुबै टोलीका लागि चुनौती हुनेछन । पहिलो लेगमा अग्रता बनाउने टोलीको फाइनल पुग्ने सम्भावना बढ्ने छ ।