काठमाडौं । मड्रिड ओपन टेनिसका दैरान विद्युत् आपूर्ति अवरुद्ध भएपछि खेल स्थगित भएको छ । गएराति स्पेनको राजधानी मड्रिडमा व्यापक रूपमा विद्युत् आपूर्तिमा समस्या आएपछि १५औं वरियताका ग्रिगोर दिमित्रोभ र उनका बेलायती प्रतिद्वन्द्वी ज्याकब फरनलीबिचको खेल स्थगित भएको हो ।
विद्युत् आपूर्ति बन्द हुँदा स्कोरबोर्डहरू अन्धकारमा डुबेका थिए भने ओभरहेड क्यामेराहरूले काम गर्न छाडेका थिए । सोही कारण दुबै खेलाडी कोर्टबाट बाहिरिन बाध्य भएका थिए ।
म्यानोलो सान्टाना स्टेडियममा भइरहेको राउन्ड अफ ३२ को खेलमा दिमित्रोभले फरनलीविरुद्ध ६-४, ५-४ को अग्रता लिइरहेका बेला खेल रोकिएको थियो ।
पावर कटका कारण इलेक्ट्रोनिक लाइन कलिङ प्रणालीहरू पनि प्रभावित भएको एटीपीले जनाएको छ । त्यस्तै, दर्शकहरूले अन्धकारमा खिचेका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरेका छन् ।
स्थानीय सञ्चार माध्यमहरूले जनाएअनुसार यो विद्युत् अवरोधले ट्राफिक लाइट, केही विमानस्थल र मड्रिडको मेट्रो प्रणालीको केही भागलाई समेत असर पारेको थियो । स्पेनको विद्युत् सञ्जाल सञ्चालक रेड इलेक्ट्रिकाले ऊर्जा कम्पनीहरूसँग मिलेर पुनः विद्युत् आपूर्ति बहाल गर्न प्रयासरत रहेको जनाएको छ ।