काठमाडौं । एनफिल्डमा ६४ हजारभन्दा बढी दर्शक माझ टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुल प्रिमियर लिगको च्याम्यियन बन्यो । उसले सर्वाधिक २० औं पटक प्रिमियर लिगको उपाधि जित्दै म्यानचेस्टर युनाइटेडको कीर्तिमान बराबरी गरेको छ ।
पहिलो सिजनमै प्रशिक्षक आर्ने स्लट संयम र स्पष्ट रणनीतिले उत्कृष्ट परिणाम निकाल्दै समर्थकहरूको मन जित्न सफल भए । ३५ वर्षपछि घरेलु मैदानमा च्याम्पियन बन्दा पुरै लिभरपुल रातो रंगमा रंगियो ।
रातो रंगको मुस्लो र धुवाँबीच लिभरपुलको एउटा पुस्ताले आफ्नो सपना साकार भएको देख्यो । खेल सुरु हुनुअघि नै हजारौं समर्थक एनफिल्ड पुगेका थिए । च्याम्पियन बन्ने क्रममा रहेको टोलीलाई स्वागत गर्न कोही समर्थक रुख चढे त कोही बारहरूमा उक्लिए ।
च्याम्पियन बन्न केबल १ अंक चाहिएकोमा लिभरपुलले टोटनहममाथि ५-१ को शानदार जित हात पार्दै प्रिमियर लिगको उपाधि पक्का ग¥यो ।
यो यस्तो उत्सव थियो- जुन तीन दशकभन्दा लामो प्रतिक्षापछि एनफिल्डमा फर्किएको थियो ।
सन् १९९० को मेमा, एलन हेन्सनले फस्ट डिभिजनको ट्रफी उठाउँदा, कुनै पनि लिभरपुल समर्थकले घरेलु मैदानमा आगामी ३० वर्ष उपाधिविहीन बित्ने कल्पना गरेका थिएनन् । सन् २०२० मा जुर्गेन क्लोप र उनको टोलीले १९औं लिग उपाधि जितेको थियो । यो उपाधि लामो पीडाको अन्त्य त थियो तर कोरोना महामारीका कारण, त्यो खुसीको क्षण बन्द स्टेडियममा, खाली कुर्सीहरूका बीच मनाउनुपरेको थियो ।
तर यस पटक, कप्तान भर्जिल भान डाइकको आग्रहमा, एनफिल्ड पुरै रातो रंगले ढाकिएको थियो । खेलअघि र पछि देखिएका दृश्यहरू ६५ हजार समर्थकका हृदयमा सधैंका लागि नमेटिने गरी बसेको छ ।
लामो समयदेखिको पर्खाइ उल्लासमा परिणत गर्दा लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग २० लिग उपाधिको कीर्तिमान बराबरी गर्दै इतिहास रचेको छ । आर्सनलले केही दिनअघि क्रिस्टल प्यालेससँग बराबरी खेलेपछि लिभरपुललाई उपाधि जित्न केवल एक अंक चाहिएको थियो ।
खेलको दोस्रो मिनेटमै मोहमद सालाहले गोलको प्रयास गरे, तर उनी सफल हुन सकेनन् । १२औं मिनेटमा कोनाटेले बल अनावश्यक रूपमा आउट गर्दा टोटनहमलाई कर्नर प्राप्त भयो र त्यसै कर्नरमा डोमिनिक सोलांकेले जेम्स म्याडिसनको क्रसमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए । तर त्यसपछि लिभरपुलले निकै सुधारिएको प्रदर्शन ग¥यो र एक उपहारसहित टोटनहमको पोस्टमा ५ गोल ग¥यो ।
जब रेफ्री थोमस ब्रामलले खेल सकिएको सिठी बजाए, पूरा एनफिल्ड रातो धुवाँ, आतिसबाजी र वान कीस गीतको धुनमा झुमेको थियो ।
प्रशिक्षक आर्ने स्लट र उनको टोली करिब एक घण्टा मैदानमै बस्यो । उनीहरूले कोपतिर फर्किएर हात समात्दै यु विल नभर वाक अलोन गाए । पुरै एनफिल्डले स्वरमा स्वर मिलायो । ३५ वर्षसम्म थुनिएको भावना विस्फोट भयो ।
खेलपछि, आर्ने स्लटलाई मञ्चमा ल्याइयो । उनले जुर्गेन क्लोपलाई सम्झिँदै धन्यवाद दिए । उनले पहिलो सिजनमै उपाधि जितेर इतिहास रचेका छन् । अब लाग्छ, वर्षौंसम्म एनफिल्डमा ‘आर्ने स्लट’को नाम गुन्जिरहने छ ।
लिभरपुलको विजय उत्सव मैदान बाहिर पनि जारी रह्यो । टोलीले बसमा लिभरपुलको परिक्रमा गर्दा लाखौं समर्थकले अभिनन्दन गरे । पाँच वर्षअघि खाली स्टेडियममा उठाइएको त्यो ट्रफी, यसपटक हजारौं समर्थक माझ उड्यो । र फेरि एकपटक, एनफिल्डले एउटा नयाँ युगको कथा लेखेको छ ।