हेटौंडा । खेल क्षेत्रको विकासका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको गौरीटारमा १६ वर्षअघि निर्माण सुरू गरिएको थियो- केन्द्रीय खेलकुद प्रतिष्ठान । यही प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरको फुटबल, क्रिकेट र स्विमीङ प्रतियोगितामा सहभागी हुन जाने खेलाडीका लागि बन्द प्रशिक्षणका साथै खेल अभ्यास गर्न सकिने पूर्वाधार निर्माण गरेपछि खेलप्रेमी र खेलाडी उत्साहित भएका छन् ।
खेल क्षेत्रको थप विकास गर्ने लक्ष्यकासाथ हेटौँडामा २०६६ सालमा थालनी गरिएको थियो केन्द्रीय खेलकुद प्रतिष्ठान । यहि प्रतिष्ठानले खेल क्षेत्रको प्रवर्द्धन गर्न भन्दै यस स्थानमा रंगशाला निर्माणको अवधारणालाई अघि बढायो । जहाँ फुटबल मैदानदेखि, क्रिकेट र स्वमिङ खेलका संरचनाहरू निर्माण भएका छन् ।
हेटौंडा उपमहानगरपालिका-६ गौरीटारमा निर्माण भएको यही रंगशालाको फुटवल मैदानमा जिल्ला फुटबल संघले आउँदो बैशाख १९ गतेदेखि राष्ट्रिय महिला फुटबल प्रतियोगिता गर्ने भएको छ । २ हजार ८ सय ५० दर्शकले प्याराफिटमा बसेर नै फुटवल खेलको अवलोकन गर्न सक्ने भएका छन् ।
क्रिकेट मैदानको ८० प्रतिशत कामका साथै स्विमीङ पुलको काम धमाधम भैरहेको छ । ५ सय दर्शक अट्ने प्याराफिट सहितको क्रिकेट मैदानको ८० प्रतिशत काम सकीएको छ । यसैगगरी एकसय ५० दर्शक अट्ने प्याराफिटसहितको स्विमिङ पुल निर्माण भैरहेको छ ।
फुटबल, क्रिकेट र स्विमीङ पुलको संरचना निर्माणमा हालसम्म ४० करोड रूपैयाँ खर्च भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगीतामा सहभाहगी हुने नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न राष्ट्रिय खेलकुद परिषदले यो आयोजना अघि बढाएको थियो । यो प्रतिष्ठानलाई अहिले प्रदेश खेलकुद परिषदले सञ्चालन गरिरहेको छ ।
प्रतिष्ठानको परिकल्पना अनुसारको २५ प्रतिशत काम सकिएको छ । बनेका पुर्वाधार उपयोग गर्दै थप संरचना निर्माण गर्दा बनेका संरचनाबाट खेलाडिहरूले फाईदा लिने खेल क्षेत्रका पदाधिकारीहरूको बुझाई छ ।
फुटबल, क्रिकेट मैदान, स्विमीङ पुल र व्वाइजहोस्टल, बनीसकेका छन् । ईन्डोर प्रशिक्षणका लागि कभर्डहल, महिला तथा पुरुषको छुट्टा-छुट्टै आवास कक्ष, रिक्रिएशन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन भने निर्माण हुन भने बाँकी नै छ ।