काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । दशरथ रंगशालामा आज सम्पन्न फाइनलमा पोखरा थन्डर्सलाई २-१ ले पराजित गर्दै साबिक विजेता ललितपुरले उपाधि रक्षा गरेको हो । ललितपुर गत सिजनको पनि विजेता हो ।
पहिलो हाफमा पोखराले केही मौका बनाए पनि फिनिस गर्न सकेन । १४ औं मिनेटमा पापा इबु केबेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । २३ औं मिनेटमा पोखराका सुदिल राईको क्रस ललितपुरका डिफेन्डरलाई लागेर रिबाउन्डमा प्राप्त अवसरलाई आयुष घलानले गोलमा परिणत गर्न सकेनन् । २७ औं मिनेटमा जो आइडोको फ्रि-किकमा स्टेफन समीर बिनोङको सट पोस्ट नजिकैबाट बाहिरियो ।
ललितपुरले ४२ औं मिनेटमा डेडलक तोड्यो । मनोज राईको क्रसमा इमोह इजेकेलको हेडरले पोस्टको दिशा लियो । दोस्रो सिजन ललितपुरले उपाधि जित्दा सर्वाधिक ६ गोल गरेका इमोहको यस सिजन यो तेस्रो गोल हो ।
दोस्रो हाफमा भने पोखराले कमब्याकको प्रयास गर्यो । ६३ औं मिनेटमा सुदिल राईले पोखराका लागि बराबरी गोल फर्काए । पदम भट्टराईले दाया भागबाट दिएको क्रस स्टेफेन समीर बिनोङले हेड गरे पनि ललितपुरका गोलकिपरले क्लियर गर्न नसकेपछि सुदिलले गोल गरेका हुन् । तर ७४ औं मिनेटमा ललितपुरले पुन: अग्रता बनायो । इजेकेलको असिस्टमा पापा इबोउ केबेले ललितपुरका लागि दोस्रो गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा ललितपुर अपराजित रहँदै च्याम्पियन बन्यो ।
विजेता बनेसँगै ललितपुरले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता पोखराले ३० लाख रुपैयाँमा चित्त बुझायो ।