सप्तरीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, २९ जना घाइते

वैशाख १४, २०८२ |आरएन विश्वास
सप्तरीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, २९ जना घाइते

सप्तरी । कञ्चनरुप नगरपालिका-१० स्थित पूर्व–पश्चिम राजमार्गमा भएको यात्रुबाहक बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् ।

उदयपुरको गाइघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नम्बरको यात्रुबस अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको र उपचारका क्रममा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार उदयपुर त्रियुगा नगरपालिका-२ खैजनपुरकी २२ वर्षीया कविता चौधरी र झापा गौरदह-२ का ३९ वर्षीय अनिल राईको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएका सप्तरीको सप्तकोशी नगरपालिका-१ का ७५ वर्षीय रत्नबहादुर मगरातीको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी, दुर्घटनामा परी घाइते भएका २९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बस चालक झापा मेची नगरपालिका-७ का अमृत दर्जीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।