अल नासार एएफसी च्याम्पियन्स लिग एलिटको सेमीफाइनलमा प्रवेश

वैशाख १४, २०८२ |खेल ब्युरो
अल नासार एएफसी च्याम्पियन्स लिग एलिटको सेमीफाइनलमा प्रवेश

काठमाडौं । साउदी अरेबियन क्लब अल नासार एएफसी च्याम्पियन्स लिग एलिटको सेमीफाइनल प्रवेश गरेको छ । क्रिस्टियानो रोनाल्डो सम्मिलत नासारले क्वाटरफाइनलमा जापानको योकोहामालाई ४-१ गोलले पराजित गरेको हो ।

जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोटर्स सिटीमा गएराति भएको खेलमा नासारले पहिलो हाफमा नै ३-० गोलको अग्रता लिएको थियो । सुरूवाती २० मिनेट भने खेल सुस्त बनेको थियो । २२औं मिनेटमा नासारले गोलको अवसर पनि गुमायो । 

अन्तत २७औं मिनेटमा जोन डुरानले डेडलक तोडे । ३१औं मिनेटमा साडियो मानेले नासारको अग्रता दोब्बर बनाए । ३८औं मिनेटमा रोनाल्डोले टिमका लागि तेस्रो गोल थपेका थिए । ४९औं मिनेटमा डुरानले ब्यक्तिगत दोस्रो गोल गरेपछि नासारले योकोहामासंगको दुरी ४-० मा पुर्याएको थियो । 

५३औं मिनेटमा कोता वातानावलले गरेको गोल योकोहामाका लागि सान्त्वना बन्यो । ७३औं मिनेटमा उनी रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । अर्को क्वाटरफाइनलमा साउदीकै अल आलीले थाइल्यान्डको बुरिराम युनाइटेडलाई ३-० गोलले पराजित गर्यो । 

किङ अब्दुल्लाह सिटीमा आलीलाई जित दिलाउने क्रममा खेलको चौथो मिनेटमा नै रियाद महरेजले गोल गरेका थिए । छैटौं मिनेटमा गालेनले गोल थपे । 

३०औं मिनेटमा रोवर्टो फिरमिनोले गोल गरेपछि पहिलो हाफमा पाहुँना टिम ३-० ले पछि पर्यो । ब्रेकपछि पनि उसले पुनरागमन गर्न सकेन् । सन १९८६ र २०१२ को उपविजेता आलीले फाइनल प्रवेशका लागि हल हिलालसँग खेल्नेछ ।