मनमोहन स्मृति एक दिवसीय क्रिकेट : एपिएफले वागमतीलाई ८ विकेटले हरायो

वैशाख १४, २०८२ |महाप्रसाद खतिवडा
मनमोहन स्मृति एक दिवसीय क्रिकेट : एपिएफले वागमतीलाई ८ विकेटले हरायो

मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफ विजयी भएको छ ।

एमएम कप फाउन्डेसनको आयोजनामा आज भएको खेलमा वागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सशस्त्रको एपीएफ क्लब शीर्ष स्थानमा उक्लिएको हो ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको समूह-ए अन्तर्गत दोस्रो खेलमा एपिएफले वागमतीलाई पराजित गरी शीर्ष स्थानमा उक्लिएको हो । 

पहिलो खेलमा एपिएफ त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । एपिएफले २ खेलमा १ खेलमा जित र १ खेलमा पराजित हुँदै २ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीले भने एक खेल जितेको छ, एक खेल खेल्न बाँकी छ । यस्तै, वागमती पहिलो खेलमा पराजित हुँदै अंकविहीन छ ।

टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित ५० ओभरको खेलमा १९ दशमलव ३ बलमा सबै विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो । वागमतीका कप्तान रित गौतमले ३१ रन बनाउँदा विवेक राना मगरले १३ रन र उत्तम थापा मगरले १० रन जोडे । एपिएफका प्लेयर अफ म्याच प्रकाश जैशीले ४ विकेट लिए भने हविशेष गौतमले ३ र भोजराज भट्टले २ विकेट लिए ।

जवाफमा एपिएफले ९ दशमलव ४ बलमा २ विकेट गुमाई ८१ रनको झिनो लक्ष्य पूरा गर्‍यो । एफिएपको जितमा दीपक बोहराले ३५ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ४८ रनको योगदान दिए भने सुमित महर्जनले अविजित १८ रनको योगदान दिए । वागमतीका असिम श्रेष्ठले दुई विकेट लिए ।

सोमबार समूह एको अन्तिम लिग खेलमा आर्मी र वागमती प्रदेश भिड्नेछन् ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।