विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्छ : गृहमन्त्री

वैशाख १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण र उद्धारका लागि स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । डीपीनेट नेपालले समन्वय गरेको विपद् संवाद शृंखलालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विपद्का बेला पीडितले सबैभन्दा नजिकको सरकारबाट सहयोग खोज्ने भएकाले स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभएको हो । 

वडा तहमै विपद् उद्धारका सामग्री र राहतका समान राख्ने गरी मानवीय सहायता गोदाम बनाउनुपर्ने मन्त्री लेखकको भनाइ छ ।

गृहमन्त्री लेखकले आगामी वर्षाको समयमा आउने जोखिमका लागि अहिलेबाटै तयारी गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणलाई निर्देशन पनि दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले संवादबाट आएका सुझाव कार्यान्वयनमा प्राधिकरणले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

डीपीनेट नेपालका अध्यक्ष डा राजु थापाले विज्ञहरूका सुझाव र सरोकारवालाका कुरामा छलफल गर्न मासिक रूपमा नियमित संवाद गरी विपद् पूर्वतयारीमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डिमानका अध्यक्ष सूर्यबहादुर थापा, प्राडा जीवराज पोखरेल, डा धरम उप्रेती, डा वसन्त अधिकारी, डा श्रीराम शर्मा लगायतले मनसुनजन्य बेलाको विपद्‌बाट जोगिन र जोगाउन सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.