सल्यानमा जङ्गलमा लागेको डढेलो बस्तीमा सल्किँदा दुई घर जले

वैशाख १४, २०८२ |सरिता चलाउने
सल्यानमा जङ्गलमा लागेको डढेलो बस्तीमा सल्किँदा दुई घर जले

सल्यान । जङ्गलमा लागेको आगो बस्तीमा पस्दा दुई घर जलेका छन् । आज दिउँसो छत्रेश्वरी गाउँपालिका-१ को काल्चे सल्लेरी सामुदायिक वनमा लागेको ढडेलो बस्तीमा फैलिँदा दुई वटा घर जलेको वडाध्यक्ष प्रकाश हमालले जानकारी दिनुभयो ।

दिउँसो करिब १ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । गाउँका अन्य घरहरू समेत जल्न सक्ने भएकाले नियन्त्रणको प्रयास भइरहेको वडाध्यक्ष हमालले बताउनु भयो ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय थारमारे र इप्रका दमाचौरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

'प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहनुभएको छ,' जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर रेशमबहादुर खत्रीले जानकारी दिनुभयो ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।