रियाल मड्रिडमाथि जित हात पार्दै बार्सिलोनालाई 'कोपा डेल रे'को उपाधि

वैशाख १४, २०८२ |खेल ब्युरो
रियाल मड्रिडमाथि जित हात पार्दै बार्सिलोनालाई 'कोपा डेल रे'को उपाधि

काठमाडौं । बार्सिलोनाले चीर प्रतिद्धन्दी रियाल मड्रिडमाथि अतिरिक्त समयमा ३-२ गोलको जित हात पार्दै 'कोपा डेल रे'को उपाधि जितेको छ । एल क्लासिको भिडन्तमा बार्सिलोनाका लागि जुल कुन्डेले निर्णायक गोल गरे ।

सेभिलमा आज विहान भएको खेलको निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । २८औं मिनेटमा पेड्रिले, लमिन यामलको सहयोगमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा यहि नतिजा कायम रह्यो । ब्रेकपछि किलियन एम्बाप्पे सब्सटिच्यूट खेलाडीका रूपमा मैदान प्रवेश गरेपछि रियालको खेलमा सुधार आयो । ७०औं मिनेटमा एम्बाप्पेले बराबरी गोल फर्काए । 

७७औं मिनेटमा आर्दा गिलेरको कर्नरमा चुवामेनीले गोल गरेपछि रियाल २-१ ले अघि रहेको थियो । तर अन्तिम समयसम्म जोगउन भने सकेन । ८४औं मिनेटमा बार्सिलोनाका फरान टोरेसले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

१ सय १६औं मिनेटमा कुन्डेले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । बार्सिलोनाको यो कीर्तिमानी ३२ औं 'कोपा डेल रे' उपाधि हो । अन्तिम समयमा रियाल दश खेलाडीमा समेटिएको थियो । लुकास भाकेज रातो कार्ड पाउँदै मैदान बाहिरिएका हुन् । 

हान्जी फ्लिकको बार्सिलोनाको प्रशिक्षकका रुपमा यो पहिलो मुख्य उपाधि हो । प्रशिक्षक फ्लिकले अहिलेसम्म खेलेका सात फाइनल हारेका छैनन् । बार्सिलोनाले यो सिजन स्पेनिस सुपर कपको उपाधि पनि जितेको थियो । अब उसको नजर ला लिगा र च्याम्पियन्स लिगमा छ ।