आईपीएल २०२५ : कोलकाता र पञ्जाबबीचको खेल भारी वर्षाका कारण रद्ध

वैशाख १४, २०८२ |खेल ब्युरो
आईपीएल २०२५ : कोलकाता र पञ्जाबबीचको खेल भारी वर्षाका कारण रद्ध

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्स बीचको खेल भारी वर्षाका कारण रद्ध भएको छ । दुवै टिमले १-१ अंक बाँडे ।

कोलकाताको मैदान इडेन गार्डेन्समा भएको खेलमा पञ्जाबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । ओपनर प्रियान्स आर्या र प्रभ सिमरन सिंहले अर्ध शतक बनाएपछि पञ्जाबले २० ओभरमा चार विकेट गुमाएर दुई सय एक रनको योगफल बनायो । 

यी दुईले पहिलो विकेटका लागि एक सय २० रनको साझेदारी गरेका थिए । प्रियान्सले ३५ वलमा ६९ रन बनाए । उनी आन्द्रे रसलको बलमा आउट भएका थिए । प्रभ सिमरनले ८३ रनको योगदान गरे । 

४९ बलमा ६ चौका, ६ छक्का प्रहार गरेका उनलाई वैभव अरोराले आउट गरेका थिए । ग्लेन म्याक्सवेल भने फेरि चलेनन् । उनी मात्र सात रनमा मैदान बाहिरिए । मार्को यानसेनले तीन रन जोडे । 

गत सिजन कोलकातालाई उपाधि दिलाएका श्रेयस ऐअर २५ रनमा अविजीत रहे । वैभवले दुई , वरूण चक्रवर्ती र रसलले १-१ विकेट लिए । जवाफमा कोलकाताले एक ओभरमा विना क्षति सात रन बनाएको थियो । 

क्रिजमा रहमानुल्लाह गुरबाज र सुनिल नरायन थिए । तर लक्ष्य पछ्याइरहँदा हावाहुरीसहित ठुलो पानी परेपछि खेल रोकियो । त्यसपछि खेल सुचारू हुन नसक्दा रद्ध गरिएको हो । पञ्जाब नौ खेलबाट एघार अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । 

कोलकाता सात अंकका साथ सातौं स्थानमा छ । जारी सिजनको पहिलो खेलमा पञ्जाबले कोलकातालाई १६ रनले हराएको थियो । सो खेलमा पञ्जाबले एक सय ११ रन रक्षा गरेको हो । 

आईपीएलमा आज दिउसो पौने चार बजे मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्टस तथा सांझ पौने ८ बजे दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैङलुरू बीच खेल हुनेछ ।