कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा खेलकुद गतिविधि सुदृढ पार्ने उद्देश्यले आधुनिक कभर्ड हल निर्माण गरिएको छ । झलारीमा निर्माण गरिएको बहुउपयोगी संरचनाले स्थानीय खेलाडीलाई नियमित अभ्यास गर्ने सुविधा प्रदान गर्ने विश्वास लिइएको छ ।
डबल ब्याडमिन्टन र भलिबल कोटसहितका पूर्वाधारयुक्त कभर्डहल सञ्चालनमा आएपछि शुक्लाफाँटाको खेल क्षेत्रमा नयाँ उत्साह थपिएको छ ।
दुई करोड ६६ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको कभर्डहलको शुक्रबार नगर प्रमुख रणबहादुर महराले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नु भयो । त्यसक्रममा उहाँले उक्त कभर्डहल खेलकुद क्षेत्रको विकासमा कोशेढुंगा साबित हुने दाबी गर्नुभयो ।
डबल ब्याडमिन्टन र भलिबल कोर्टसहित १५० जना अट्न सक्ने प्यारापिट, १२ वटा शौचालय लगायतका पूर्वाधारसहितको यो कभर्डहल खेलाडीहरूको अभ्यासका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
कभर्डहल बनेको स्थानकै खाली जग्गामा नगरपालिकाले खेलकुद मैदान समेत बनाउने तयारी गरेको छ । तर, नजिकैबाट बगिरहेको खोलामा वर्षाको समयमा आउने बाढीले कटानको जोखिम भने कायमै छ । कभर्डहल, खेल मैदान र नजिकैको बस्ती जोगाउन पनि नदीमा तटबन्धको आवश्यकता महत्त्वपूर्ण मानिएको छ ।
कभर्डहल उद्घाटनसँगै मैत्रीपूर्ण ब्याडमिन्टन खेलको समेत उद्घाटन गरिएको छ ।