कैलाली । सडक दुर्घटनामा परी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह (मनु) घाइते हुनुभएको छ ।
भारतस्थित खिरी जिल्लाको खुटारमा सडक दुर्घटनामा परी शाहसहित परिवारका अन्य ५ जना घाइते हुनु भएको हो ।
नियमित उपचारका लागि परिवारका सदस्यसहित धनगढीबाट नयाँ दिल्ली जाने क्रममा शाह चढेको भारतीय नम्बर प्लेटको कारलाई आज बिहान बसले ठक्कर दिएको थियो ।
कारमा शाहसहित उहाँकी श्रीमती, छोरी, आमा, बहिनी र ज्वाइँ सवार हुनुहुन्थ्यो । शाहको टाउकोमा चोट लागेको छ । उहाँकी पत्नीको हातमा चोट लागेको छ । घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले जनाएका छन् । शाह चढेको कार पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने दुर्घटनाबारे भारतीय प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।